ऐतिहासिक अमरगढी किल्लामा बडाकाजी थापाको शालिक अनावरण

गणेशबहादुर मगर
खलंगा–डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा बडाकाजी अमरसिँह थापाको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

सोमबार औपचारिक समारोहकाबीच वडाकाजी थापाको पूर्ण कदको शालिक अनावरण गरिएको हो । सोहि समारोहमा अमरगढी किल्लामा नेपाली सेनाको सिघ्र प्रभाव परियोजना अन्तर्गत रणबम गणले किल्लाको भित्रिभागमा ढुंगा छाप्ने कार्य सम्पन्न गरेर योजना हस्तान्त्रण गरेको छ ।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र नेपाली सेनाको २५ नम्बर बाहीनीका बाहिनीपति सहायक रथी मनोज थापाले संयुक्त रुपमा बडाकाजी थापाको शालिकको अनावरण गरेका छन । नेपाल एकिकरणको क्रममा बिक्रम सम्बत १८४७ मा निर्माण गरिएको अमरगढी किल्लालाई थप आकर्षक बनाई पर्यटकहरुलाई आकर्षण गर्ने उद्देश्यका साथ अमरगढी नगरपालिकाको तर्फबाट राष्ट्रिय विभुति बडाकाजी थापाको पूर्ण कदको शालिक राखिएको अमरगढी नगरपालिकाका नगर प्रमुख जोशीले बताए ।

कार्यक्रमका सहभागीहरुलाई अमरगढी नगरपालिका वडा नं.५ का वडाअध्यक्ष टंकबहादुर क्षेत्रीले स्वागत गरेका थिए । विगतमा अमरगढी किल्लामा बडाकाजी थापाको शालिक रहेको भए पनि स्थानीय कालिगढले निर्माण गरेको शालिक वास्तविक अनुहारसँग मेल नखाने भएकाले हटाएर धातुको मिश्रणबाट निर्माण गरिएको पुर्णकदको नयाँ शालिक निर्माण गरेर अनावरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

तत्कालिन राजा श्री ५ रणबहादुर शाह शासनकालको सन १८४७ भाद्र ३१ गते नेपाल एकिकरण शिलशिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि बिशाल डोटी राज्य नेपालमा गाभिएको थियो । नारीदाङमा कप्तान रणविर खत्रीको नेतृत्वमा आएको दश कम्पनीका सैनिक जवान र डोटेली राज्यसंग घमासान युद्ध भएको ईतिहांस छ ।

युद्धमा गोरखाली फौजसंग डोटेली फौज पराजित भएपछि यस भूू–भागको शासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकको रुपमा डडेल्धुरा आएका थिए । उनले यस क्षेत्रको संरक्षणसंगै महाकाली नदी पारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राखेका थिए । यसैकालमा डडेल्धुरा सदरमुकाममा ढुुङ्गेकिल्लाको निर्माण सरदार अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुुब्बा जोगनारायण मल्ल, सुुब्बा फौदसिंह, सुगबीर खत्री लगायतका सैनिक कमाण्डरहरुले गरेको इतिहास छ । १८औँ शताब्दिको ईतिहास बोकेको अमरगढी ढुुङ्गे किल्ला हाल जिर्ण हुदै गएकोमा स्थानीयले चिन्ता ब्यक्त गरेका छन ।

 

You might also like
Leave A Reply

Your email address will not be published.