डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु आएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गन्यापधुराको बेरुजु ०.२० प्रतिशत छ । गाउँपालिकाको १९ लाख ३३ हजार बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी प्रतिशतका आधारमा दार्चुलाको शैल्यशिखर नगरपालिका र रकमका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा बेरुजु आएको छ ।
यस्तै डडेल्धुरामा भने सबैभन्दा बढी नवदुर्गा गाउँपालिकामा २ करोड ७० लाख २८ हजार अर्थात २.७१ प्रतिशत बेरुजु आएको छ ।
आलिताल गाउँपालिका एक करोड ९७ लाख ६९ हजार अर्थात २.१३ प्रतिशत, भागेश्वर गाउँपालिका एक करोड ९३ लाख ४३ हजार अर्थात २.०८ प्रतिशत, अजयमेरु गाउँपालिका एक करोड ७६ लाख ९३ हजार अर्थात १.६२ प्रतिशत, अमरगढी नगरपालिका एक करोड ११ लाख २२ हजार अर्थात ०.७१ प्रतिशत र परशुराम नगरपालिका एक करोड ११ लाख अर्थात ०.७५ प्रतिशत बेरुजु आएको छ ।