एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

डडेल्धुरा-पछिल्लो समय ओझेलमा रहेको सुदूरपश्चिम प्रदेश सरकार गठन प्रकृयाले निकास पाउने देखिएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए ।

विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए । प्रमुख सचेतक पालले भने “केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन । ” यही जेठ ३ गते अर्थात् बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्ता साझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएका बैठक स्थगित भएका थिए ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद डा.तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.