यही १५ वैशाखमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन् ।
एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दललाई आयोगले अनुरोध गरेको छ ।
आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।
वैशाख १५ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा १९ जना र प्रदेश सभा बझाङमा १ (१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन् ।