चौधरीलाई दिएको समर्थन फिर्ता गरेर मुख्यमन्त्रीमा दाबीगर्दै सोडारी

धनगढी—सत्ता समिकरणमा कुरा मिलेपछि नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् ।
सत्ता गठबन्धनका नेताहरू सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् ।
एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएको हो । यसअघि आइतबार केन्द्रीय सत्ता गठबन्धनका नेताहरूले आफ्नो पार्टीलाई मुख्यमन्त्री नदिने भएपछि सुदूरपश्चिमको एकीकृत समाजवादीले विद्रोह गर्दै कांग्रेस, राप्रपासहित नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेका थिए ।
एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अर्को कोर्समा प्रवेश गरेको छ । प्रदेश प्रमुख मियाँले अब के गर्छन् भन्ने प्रतीक्षा गरिएको छ । यसअघिको कोर्सबाट फर्केपछि अब एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.