शब्दः अमृत भादगाउले
तस्विरः गणेशबहादुर मगर
महाभारतका पात्र घटोत्कच नै घटालबाबा हुन् । उनी पाण्डव पक्षका भीमपुत्र । उनकी आमा राक्षसवंशकी हेडम्बा । घटोत्कच शूरवीर थिए । उनले महाभारत युद्धमा कौरव पक्षको ठुलो क्षति पुरयाए । पछि कर्णले इन्द्रदेवबाट प्राप्त शस्त्र प्रहार गरेर उनको हत्या गरिदिए । यिनै घटोत्कचलाई डडेलधुरामा ‘घटालबाबा’का रुपमा पुजिन्छ । डोटीगाडको बीचमा घटालथान छ ।
अमरगढी नगरपालिका–३ मा अवस्थित घटालथानमा बाबाका मूर्ति छन् । घटालथान वरपर चारै दिशामा डुडेश्वर मन्दिर छन् । त्यस्तै घटालक्षेत्रमा कैलपाल, असीग्राम महादेव, भगवती आदिका मन्दिर पनि छन् । घटाल दर्शन गरेमा सन्तान प्राप्त हुने, आयु बढ्ने, समृद्धि हुने जनविश्वास छ । समग्रमा यिनलाई मनोकामना पुरयाइदिने देवता भनिन्छ ।
यहाँ हरेक वर्ष वैशाख २ गते र कात्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्छ । असीग्राम मन्दिरमा भने विजया दशमीका दिन मेला लाग्छ । घटालबाबालाई पञ्चरङ्गी नेजा, बोका, घण्ट आदि चढाइन्छ । आइतबार, औंसी, एकादशी, साउन, पुस र माघमा बलि चढ्दैन । मन्दिर क्षेत्रमा हरेक मङ्गलबार र शनिबार स्थानीय कलाकारहरूले दमाहा बजाउँछन् । त्यस्तै जाँत (जात्रा) मा पनि बाजागाजाको धुनले घटाल क्षेत्र गुन्जिन्छ ।
घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहोराका अनुसार घटालबाबा साक्षात् देवता हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन डोटीगाडमा बाँध बाँधेर ताल बनाउने योजना छ । त्यसपछि डुङ्गा चलाउने छौं । साथै यहाँका प्राचीन सम्पदा उत्खनन, संरक्षण एवम् सजावट गर्ने योजना छ ।
घटालथानको सम्बन्ध अजयमेरुकोटसँग जोडिएको छ । अजयमेरुकोटका राजा नागी मल्लले भारत, उत्तराखण्डको कतुर भन्ने ठाउँकी राजकुमारी बिहे गरेका थिए । दाइजोमा घटालबाबाको मूर्ति पनि ल्याइएको थियो । तिनै घटालबाबालाई यहाँ स्थापना गरिएको हो । दाइजोसँगै घटालबाबाको सेवामा पठाइएकाहरू घटालथान वरपर बसे ।
डडेल्धुरा बजारबाट साँढे ६ किलोमिटर पश्चिममा पर्दछ, घटालथान । थानसम्मै पक्की सडक बनाइएको छ । यहाँको चम्साल गाउँमा खाजाघर छन् । होटल तथा लज सुविधा भने छैन । त्यसैले डडेल्धुरा बजारमा बसेर घुमफिर गर्नुपर्छ