उदयदेवको चामल डडेल्धुरा पुग्ने

महेन्द्रनगर–कञ्चनपुरको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले उदयदेव ब्राण्डको चामल बजारमा ल्याएको छ । किसानले उत्पादन गरेको चामल किनेर सहकारीले ‘उदयदेव चामल’ बजारमा ल्याएको हो ।
उदयदेव सहकारीका महाप्रवन्धक गणेशबहादुर चन्दले किसानलाई उत्पादनसँग जोडेर लैजाने कामको शुरुआत भएको बताए । हाल महेन्द्रनगरबाट उदयदेव चामलको बिक्री शुरु गरेको सहकारीले विस्तारै डडेल्धुरा र बैतडीबाट बिक्री गर्ने योजना बनाएको छ । सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्लामा चामल बिक्री वितरण गरिने उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले जनाएको छ ।
उदयदेव चामल मध्यम खालको छ । किसानबाट किनेको चामललाई आफ्नै मिलबाट प्रोसेसिङ गरेर बजारमा ल्याइएको हो । मध्यम खालको चामलको बजार मुल्य प्रति किलो ६० रुपैया रहेकोमा उदयदेव चामल प्रति किलो ५३ रुपैयामा पाइने छ । नाफा कमाउने उदेश्य नभएकोले चामलको मुल्य बजारको भन्दा सस्तो राखिएको महाप्रवन्धक चन्दले बताए । उदयदेवले सामाजिक जिम्मेवारीका हिसाबले आफ्नै ब्राण्डमा चामल बजारमा ल्याएको हो । उदयदेवले यस बर्ष करिब ६० लाख रुपैयाको चामल किसानबाट खरिद गरेको थियो । सरकारले तोकेको न्युनमत मुल्यमा नै उदयदेवले चामल खरिद गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.