डडेल्धुरा–डडेल्धुराका तीन स्थानीय तहमा निर्माणाधिन आधारभुत अस्पताल निर्माण कार्यमा ठेकेदारले चरम लापरवाही गरिरहेका छन ।
अजयमेरु, आलिताल र नवदुर्गा गाउँपालिकामा सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा ठेकेदारले १० देखि १७ प्रतिशत मात्र काम सकेको स्थानीय तहले जनाएको छ । अस्पताल निमार्णमा ढिलासुस्ती हुदाँ स्थानीय आक्रोशित छन । स्वास्थ्य सेवा गाउँपालिकाबाटै दिने उद्देश्यले निमार्ण सुरु भएका आधारभुत अस्पतालहरुको अवस्था चिन्ताजनक छ ।
२०७६ जेठमा दुई वर्षमा सक्नेगरी निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रा.लि.ले तीन वटै अस्पताल निर्माण गर्न ठेक्का सम्झौता गरेर पटक पटक मोविलाईजेन खर्च लिएको छ । परशुराम नगरपालिकाका निर्वतमान नगरप्रमुख तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदको स्वामित्वमा रहेको सो कम्पनीले ठेक्का पाएका हरेक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । सम्झौता अवधि सकिएको एक वर्ष बढि भईसक्दा अस्पताल निर्माण कार्य अलपत्र छ । ‘निमार्ण कार्यमा ढिलासुस्ती र लापरवाही गर्नु स्वास्थ्यमाथि खलेवाड गर्नु हो,’ स्थानीय नवराज विष्टले भने, ‘ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही हुनुको साटो राजनीतिक पहुँचको आधारमा बर्षेनी म्याद थप्ने काम भइरहेको छ ।’
जिल्लाको नवदुर्गा गाउँपालिकामा १५ शैय्या, आलिताल गाँउपालिका र अजयमेरु गाँउपालिकामा १०-१० शैय्या अस्पतालको निर्माण कार्य अलपत्र परेको हो । नवदुर्गा गाउँपालिकामा निर्माणाधिन आधारभुत अस्पताल भवनको कुल लागत १८ करोड ६८ लाख २ सय रहेको गाउँपालिकाले जनाएको छ । आलिताल र अजमेरु गाउँपालिकामा निर्माण हुन लागेको आधारभुत अस्पताल भवनको कुल लागत समान १० करोड ३६ लाख रहेको छ ।
You might also like