चैनपुर–सत्ता समिकरणमा रहेका राजनीतिक दलहरुबीच चुनावी तालमेल हुन नसक्दा बझाङमा सबै दलहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन ।
४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका उनको गत ५ असारमा जीप दुर्घटनामा निधन भएपछि सो क्षेत्र जनप्रतिनिधिविहीन भएको हो । कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक दिवंगत नेता सिंहका छोरा हुन । बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागी प्रमुख दुई दल कांग्रेस र एमालेबिच रोचक भिडन्त हुने देखिएको छ । २०५६ को निर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको पाइन्छ ।
४० बर्षसम्म एमालेको राजनीति गरेर जिल्ला अध्यक्ष भइसकेका दिलबहादुर सिंहले एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएकाले एमालेको मत बिभाजन हुनसक्ने अनुमान गरिएको छ । मुख्य प्रतिष्प्रधी कांग्रेसमा टिकट वितरणका क्रममा तिव्र असन्तुष्टी देखिएकाले एमालेले चुनाव जित्ने पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले दाबी गरे । केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरू बझाङमा एक–अर्काविरुद्ध निर्वाचनमा होमिएकाले काँग्रेसको सहजै जित हुने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति बिरबहादुर बलायरले बताए ।
शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।