सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न आह्वान

संवैधानिक प्रक्रिया थाती राखेर ‘राजनीतिक कोर्स’

डडेल्धुरा–सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले कानुनी र राजनीतिक परामर्शपछि संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख समक्ष राजीनामा पेस गरिसकेपछि बाध्यात्मक नभए पनि सामान्यतः बिहीबार साँझ नै प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आव्ह्रान गरिसक्नु पर्नेहो । तर शुक्रबार मध्यान्ह्रसम्म उनले कानूनी र राजनीतिक परामर्श गरेपछि बेलुकी १० दिनभित्रै नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन ।
केन्द्रको सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाह संविधानको धारा १६८ (२) बमोजिम नियुक्त तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २६ माघ २०७९ मा संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । धारा १६८ (४) अनुसार कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी चार र स्वतन्त्र सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहले दुई तिहाई बहुमतको सरकार चलाउने अवशर पाए ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परे । संविधानअनुसार शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भयो । उनले सरकार टिकाउन प्रयत्न गरे । विश्वासको मत लिन प्रदेशसभा बोलाइसकेको अवस्थामा प्रदेश प्रमुखलाई भेटेर एकाएक मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन । प्रदेशका मुख्य न्यायाधिवत्ता ठेकेन्द्रराज जोशीले शाह सरकार १६८ (३) अनुसार बनेकाले उनले विश्वासको मत नपाए वा राजनीनामा दिएमा १६८ (५) मा जानुपर्ने राय पेश गरेका थिए । कानून व्यवसायी र सत्तारुढ दलहरुसँग छलफल गरेपछि १६८ (२) अनुसार सरकार गठनको आह्वान गर्ने निष्कर्षमा प्रदेश प्रमुख मियाँ पुगेका हुन ।
संवैधानिक कानुनका जानकारहरु भने सुदूरपश्चिमको नयाँ सरकार गठन प्रक्रिया त्रुटिपूर्ण भएको बताउँछन । संवैधानिक प्रावधानलाई कुल्चेर ‘राजनीतिक कोर्स’ अघि नबढ्ने संबिधानविद डा. विपिन अधिकारीले बताए । उनले संबिधानको अक्षरसः कार्यान्वयन गर्नुको साटो राजनीतिक अवधारणामा अघि बढ्न खोज्दा संघीयता असफल हुने जोखिम बढ्ने जिकिर गरे ।

You might also like
Leave A Reply

Your email address will not be published.