भु स्वर्ग अर्थात खप्तड राष्ट्रिय निकुन्ज एक पटक मात्रै घुमेर अघाउनेहरु सायदै होलान र जति पटक पुगे पनी नअघाउने मध्येको म पनि एक हु । २०६५ सालमा पहिलो पटक गंगादशहरा मेला भर्न खप्तड पुगेको म त्यस पछी तिन पटक पुगिसके तर पनि फेरी खप्तड पुग्ने हुटहुटी अझै पनि मरेको छैन ।

२०६५ सालमा पहिलो पटक जादा डोटीको सिलगढी बजार बाट नै हिड्नु पर्दा र पहिलो पटक भएको कारणले पनि होला निकै सास्ति खेप्नु परेको थियो । त्यती बेला मेलाको समय अनि वर्षाको कारणले होला त्यो वेलाका खप्तड यात्रा रमाईलो भए पनि कष्टकर थियो ।

पछिल्लो समय खप्तड यात्रा निकै सहज बनिसकेको छ । खप्तड प्रवेश गर्ने विभिन्न प्रवेशद्धारहरु मध्येको सहज मानिने डोटिको झिग्राना सम्म पक्कि सडक पुगिसकेको छ । खप्तडको बेस क्याम्पको रुपमा चिनिने झिग्रानामा सुविधायुक्त होटेल तथा होमस्टेहरु स्थापना भईसकेका छन् ।

झिग्राना बाट बिहान सामान्य नास्ता पछि हिन्यो भने झिग्रानाको उकालो काट्न सहज हुन्छ । नाकै ठोकिने उकालो करिव ३ घण्टा हिन्यो भने बिचपानी पुग्न सकिन्छ जहाँ खाना खान पुगिन्छ तर त्यसको लागी पहिले नै खवर गर्नुपर्ने हुन्छ ।
विचपानी बाट तेर्साे र सामान्य उकालो गर्दै करिव ४ देखी ५ घण्टाको यात्रामा हामी खप्तडको त्रिवेणी सम्म सहजै पुग्न सक्छौ । झिग्रानाको बाटो बाट खप्तडको यात्रा गर्ने हो भने पहिलो भेट बुकिदह पाटन संग हुन्छ जहाँ बाट मन फुरुंग हुन थाल्दछ ।
खप्तड पुगिसके पछि बस्नको लागी पहिलेको जस्तो असहज छैन गेस्टहाउस हरु छन । खप्तडमा पहिले जस्तो फोन गर्नको लागी फोन डाँडा उक्लिराख्नु पर्दैन अहिले मजाले फोन संगै ईन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ ।

खप्तडमा रहेका २२ वटा विसाल पाटनहरु, खापरदह, सहश्रलिंग, नागढुंगा, केदारढुंगा, खप्तडबाबाको कुटि लगायतका घुम्नका लागी प्रशस्त ठाउँहरु छन् ।
खप्तड घुम्नका लागी बैशाख देखी मंसिर सम्म उपयुक्त मानिन्छ । करिव करिव मंसिर देखी फागुन सम्म सेताम्मे हिउले ढाकिने खप्तड मा जेष्ठको महिना गंगादशहरा मेला लाग्ने गर्दछ भने सुन्दरताको हिसावले भदौ असोजको महिना तुलनात्मक रुपमा अरु महिना भन्दा निकै सुन्दर देखिन्छ ।







मेरो आफनो अनुभवमा असोजको महिना खप्तड निकै सुन्दर देखिन्छ । असोजको महिना खप्तड यात्रा गर्दाको केही तस्विरहरु तपाईहरुको लागी ।