उपनिर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुदै

डडेल्धुरा-आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन कार्यतालिका अनुसार मनोनय दर्ता पश्चात आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ ।

आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ ।

२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका छ ।

मतदान ०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो भने बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो ।

You might also like