नार्कले प्रमाणीकरण गर्यो बैतडीको रैथाने प्याज

बैतडी–बैतडीको रैथाने प्याजलाई राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (नार्क) ले प्रमाणीकरण गरेको छ ।
ठुलो गाना, सेतो र हरियो धर्सा भएको रैथाने प्याजलाई ‘बैतडी स्थानीय प्याज’ नाम दिइएको छ । नार्कले बैतडीको प्याजलाई मान्यता दिएसँगै दशरथ चन्द नगरपालिका–२, थलालगाउँका महिला किसानले बिउका लागि सामूहिक प्याज खेती नै सुरु गरेका छन । २४ रोपनीमा सामूहिक प्याज खेती गरेर बिउ उत्पादन सुरु गरिएको छ । त्यस्तै जिल्लाबाहिर र भित्र प्याजको बिउ बिक्री गरेर थलालगाउँका महिला किसानले २० लाख रुपैयाँ भित्र्याएका छन ।
बैतडीको प्याजको बिउ प्रतिकिलो पाँचदेखि छ हजार रुपियाँसम्म बिक्री हुन थालेको छ । रैथाने प्याज आयातित प्याजभन्दा ठुलो गाना, सेतो र हरियो धर्सा भएको रसिलो गुण भएको पाइएको छ । प्याजलाई नेपालभर विस्तार गर्न सके यसबाट मनग्गे फाइदा हुने नार्कका बालीविज्ञ डा. मुकुन्द भट्टराईले बताए । प्याजको गाना र बिउबाट दोब्बर फाइदा हुने भएकाले स्थानीय जातकै प्याज खेती सुरु गरिएको अगुवा किसान सीता भण्डारी थलालले बताइन । सामूहिक प्याज खेती गर्न कृषि क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था रुडेस र अक्सफाम नेपालले सहयोग गरेको छ ।
बैतडीको प्याज सुक्खा सहन सक्ने जलवायु अनुकूलन बाली रहेको सहयोगी संस्था रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । महिला किसानलाई १२ क्वीन्टल रैथाने प्याजको गाना र प्रविधि सहयोग गर्दा करिब २० लाख रुपैयाँको बिउ उत्पादन भएको छ । थलालगाउँका महिलालाई सामूहिक प्याज खेतीमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले गाउँमै कृषि प्राविधिक बोलाएर सहयोग गरिएको रुडेसका कार्यक्रम अधिकृत अशोक चन्दले बताए । स्थानीय जातको प्याज खेती हुन थालेसँगै हाल भारतीय जातको प्याज भित्रिन कम भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.