वडाध्यक्षमा तेस्रो भएका अभिषेक सिंहलाई कांग्रेसले दियो प्रदेशको टिकट

डडेल्धुरा–गत वर्षको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा हारेका अभिषेक सिंह बझाङको आसन्न प्रदेशसभाको उपचुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने भएका छन ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेपछि कार्यसम्पादन समितिले उम्मेदवार बनाउने निर्णय गरेको छ । जयपृथ्वी नगरपालिका–५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा दुई सय ७१ मतले विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले दुई सय १५ र अभिषेकले दुई सय एक मत ल्याउँदै तेस्रो भएका थिए ।
अभिषेक स्व.पृथ्वीबहादुर सिंहका छोरा हुन । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका पृथ्वीबहादुरको सडक दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ मा यहाँ उपचुनाव हुन लागेको हो । आसन्न उपचुनावका लागि खप्तडछान्ना गाउँपालिकाका जगतप्रसाद जोशीसहित १० जना आंकक्षीले पनि दाबी गरेका थिए । कांग्रेसका जिल्ला र प्रदेश कार्यसमितिले १० जनाकै नाम सिफारिस गरेको थियो ।
२०५४ सालका नेविसंघका केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका सिंह २०७४ सालमा नेपाल तरुण दल क्षेत्र नं (क) का क्षेत्रीय सभापति भएका थिए । कांग्रेसको १४ महाधिवेशनमा जिल्ला कार्य समितिमा म्यान अफ द इलेक्सन भएका उनी अहिले बझाङ कांग्रेसका जिल्ला कार्य समिति सदस्य छन । बझाङको प्रदेशसभामा एमालेले दमन भण्डारी र नेकपा एसले दलबहादुर सिंहलाई अघि सारेको छ । माओवादी केन्द्रले प्रदेश कमिटी सचिव जनक बुढालाई सिफारिस गरे पनि केन्द्रले निर्णय लिइसकेको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.