मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी–सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन । बहुमत पुर्याएर विश्वासको मत लिने कसरत गरेका शाहले बहुमत नपुग्ने भएपछि प्रदेश प्रमुख नजिर मियाँ समक्ष बिहीबार साँझ राजीनामा दिएका हुन ।
त्यसअघि उनले विश्वासको मत लिनका लागि प्रदेश सभामा मत परीक्षण गर्ने तयारी गरेका थिए । बिहीबार दिउसो साढे तीन बजेका लागि आव्ह्रान गरिएको प्रदेशसभा बैठक दुई पटक सारिएको थियो । अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा मुख्यमन्त्री शाहको थियो ।
तर सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नआएपछि उनले राजीनामा दिएका हुन । नागरिक उन्मुक्ति पार्टीका सातै जना सांसद एक ढिक्का भएर उनलाई समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने अपेक्षामा मुख्यमन्त्री शाह थिए ।
नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह गत वर्षको माघ २६ गते मुख्यमन्त्री नियूक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि विश्वासको मत लिँदा शाहले दुईतिहाइ बढी (४१) मत लिएका थिए । जुन सुदूरपश्चिम सरकारको इतिहासमा पहिलो पटक भएको थियो । शाहलाई कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजावादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
राजीनामा बुझाएपछि मुख्यमन्त्री शाहले ‘सत्ता साझेदार दलका केही सांसदहरू विश्वासको मत प्रक्रियामा उपस्थित हुने सम्भावना नदेखिएपछि राजीनामा दिएर अर्को सरकारका लागि मार्ग प्रसस्त गरेको’ बताए । मुख्यमन्त्री शाहको राजीनामासंगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।
मुख्यमन्त्री शाहको राजीनामासँगै पुनः संविधानको धारा १६८ (२) मा फर्किने वा धारा १६८ (५) मा जाने भन्ने बहस पनि सुरु भएको छ । प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले सर्वोच्च अदालतको पछिल्लो फैसलाको नजिर अनुसार १६८ (२) मा जान कुनै रोकटोक नरहेको बताए ।
तर मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले संबिधानको मर्मअनुसार धारा १६८ (५) मा टेकेर नयाँ सरकार बन्ने धारणा सार्वजनिक गरिसकेका छन । नयाँ सरकार गठनका लागि सत्ता समिकरण सम्वद्ध दलहरुले कसरत शुरु गरेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.