मार्तडी–गत प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको क्रममा बाजुराका चेतन अयडीका हत्या आरोपीमध्ये थप ९ जनालाई पुर्पक्षका लागि कारागार पठाईएको छ ।
जिल्ला अदालत बाजुराले ३३ वर्षीय मोहन बहादुर अयडी, ३३ वर्षीय नर अयडी, २२ वर्षीय लोकेश अयडी, २५ वर्षीय मंगल अयडी, २७ वर्षीय नविन अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी, ४५ वर्षीय पदमबहादुर अयडी र२७ बर्षीय नरेश अयडीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतले हत्या आरोपमा संलग्न तीन जनालाई धरौटीमा छोड्न आदेश दिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । धरौटीमा छोड्न आदेश भएकामा ३८ वर्षीया अनिता रौले अयडी, ३६ वर्षीया धनादेवी अयडी र ३२ वर्षीया ईश्वरादेवी अयडी छन । उनीलाई जनही तीन लाख धरौटीमा छोड्न आदेश भएकोमा धरौटी रकम जम्मा गर्न नसक्दा कारागार पठाइएको छ ।
बाजुरा कारागारमा महिलाहरुलाई राख्ने सुविधा नभएका कारण अछाम कारागार पठाएको प्रही नायब उपरीक्षक गिरीले बताए । घटनापछि फरार रहेका १२ जनालाई प्रहरीेले चैत्र १२ गते जिल्ला सदरमुकाम मार्तडीबाट पक्राउ गरी चैत्र १३ गते जिल्ला अदालतमा पेश गरेको थियो । सोही दिनदेखि अदालतमा थुन्छेक बहस सुरु भएको थियो । सो घटनाका छ जना आरोपी यसअघिदेखिनै पुर्पक्षका लागि थुनामा छन ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका–७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रमा भएको बिवादलाई लिएर एक हुलले स्थानीय ३२ बर्षीय चेतनको घरमै गएर कुटपिट गरी हत्या गरेको मृतकका परिवारजनको आरोप छ ।