गोकुलेश्वर–करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाकी कुमारी तितराको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले गोकुलेश्वर–गन्ना सडक अवरुद्ध गरेका छन ।
करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाको शैल्यशिखर–१ बारिलकी ५५ बर्षीया कुमारी तितराको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु भएकाले क्षतिपुर्ति पाउनुपर्ने मागराख्दै मृतकका आफन्त र स्थानीय आन्दोलित भएका हुन ।
गएको चैत ९ गते बाख्रा चराउने क्रममा तितरालाई करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन । उनको काठमाण्डौंस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
विद्युत प्राधिकरणले भुईमा लत्रिएको तारमा छोएर करेन्ट लागेकोले क्षतिपुर्ति दिन आनाकानी गरेको छ । आन्दोलित स्थानीयहरुले भने होचो पोलका कारण छोइएर करेन्ट लागेको दाबी गरेका छन । क्षतिपूर्ति नदिएसम्म सडक अवरुद्ध गरिने उनीहरुको अडान छ ।