खानेपानी योजनाको रकम भुक्तानी नभएपछि गन्यापधुराका उपभोक्ताहरु आन्दोलित

डडेल्धुरा–गन्यापधुरा गाउँपालिकाको बाढी प्रभावित गाउँबस्तीमा निर्माण सम्पन्न भएका खानेपानी योजनाहरुको भुक्तानी पाउन नसकेपछि स्थानीय उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

दुई वर्ष पहिले गन्यापधुरा गाउँपालिकामा निर्माण सम्पन्न भएका ४६ वटा खानेपानी योजनाको करिव ९४ लाख रकम भुक्तानी नभएपछि गन्यापधुराबासी उपभोक्ताहरु आन्दोलनमा उत्रिएका हुन । बाढी पहिरोका कारण भौतिक संरचनाहरुमा क्षति पुगेपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा पुर्ननिर्माणको काम थालिएको थियो । गन्यापधुरा नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवाको गृह गाउँपालिका हो ।
तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडले हेलिकोप्टर मार्फत बाढीपहिरोले क्षति पुगाएका गन्यापधुरा गाउँपालिकाका बिभिन्न बस्तीहरुको स्थलगत अवलोकन गरेपछि पुर्ननिर्माणका योजनाहरु सञ्चालन भएका थिए । बाढीपहिरोको संकटग्रस्त गाउँपालिका घोाषण गरिएपछि पुर्ननिर्माणका बिभिन्न योजनाहरु कार्यान्वयन भएको स्थानीय बताउछन ।
पुर्ननिर्माणकै क्रममा गन्यापधुरा गाउँपालिकाले पहिलो चरणमा ४६ र दोश्रो चरणमा २२ वटा खानेपानी योजना माग गरिएको गन्यापधुरा गाउँपालिकाले जनाएको छ ।

पहिलो चरणमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कञ्चनपुर मार्फत ४६ वटा खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको थियो । दुई वर्ष पहिले ४६ वटै खानेपानी योजनाको निर्माण सम्पन्न भए पनि उपभोक्ता समितिहरुले अन्तिम भुक्तानी रकम हालसम्म पाएका छैनन ।
योजना निर्माण कार्य सम्पन्न भएको लामोसमयसम्म सम्झौता अनुरुपको रकम भुक्तानी नभएपछि गन्यापधुरा गाउँपालिका उपभोक्ताहरुले वडा नं.१ स्थित असिग्राम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टेकराज अवस्थीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन ।

आन्दोलनका निर्धारित कार्यक्रमअनुसार संघर्ष समितिले संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कञ्चनपुरलाई ज्ञापनपत्र बुझाएको छ ।
योजना निर्माण सम्पन्न गरेर भुक्तानीको लागी पटक पटक अनुरोध गर्दा माथीबाट बजेट आएको छैन भन्ने टालटुले जवाफ पाउने गरेको संघर्ष संयोजक अवस्थीले बताए । कार्यालयले कोटेशन मार्फत खरिद गरेको निर्माण सामाग्रीहरुको भुक्तानी आपुर्तीकर्ता व्यवसायीहरुलाई गरिसकेको भए पनि उपभोक्ता मार्फत गरेको कामको हालसम्म भुक्तानी हुन नसकेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कञ्चनपुरले जनाएको छ ।

ज्ञापनपत्र मार्फत अल्टिमेटम दिइएको र सम्झौता बमोजिमको रकम भुक्तानी नपाएमा कार्यालयमा तालाबन्दी र अनसनसहित कडा आन्दोलन गरिने संघर्ष समितिले जनाएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.