डडेल्धुरा अस्पतालले नयाँ भवनबाट सेवा दिदैं

डडेल्धुरा–डडेल्धुरा अस्पतालको बहिरङ्ग अर्थात् ओपीडी सेवा नयाँ भवनबाट सुरु गरिएको छ ।
भवनको निर्माणको काम ९९ प्रतिशतभन्दा बढी भएपछि आजदेखि सोही भवनबाट बहिरङ्ग सेवा सञ्चालन गरिएको हो । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष गुप्ताले भवनको बाहिरी कामबाहेक सबै निर्माण कार्य सम्पन्न भएपछि मंगलबारदेखि ओपीडी सेवा नयाँ भवनबाट सुरु गरिएको बताए ।
‘आजदेखि ओपीडी सेवा सञ्चलन गरेका छौं,’ उनले भने, ‘भवनको निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि सोही भवनबाट अब आकस्मिक, शल्यक्रिया लगायतका अन्य सेवा सञ्चालन गर्ने तयारीमा छौं ।’
३३ करोडको लागतमा ०७८ पुस ९ गते काम सम्पन्न गर्ने गरी ०७५ पुस ९ गते ठेक्का सम्झौता भएको थियो । निर्माणको ठेक्का केएस कन्ट्रक्सनले पाएको थियो । पटकपटक म्याद थप भए पनि भवनको निर्माण भने अझै सम्पन्न नभएको हो ।
नयाँ भवनबाट सबै सेवा सुचारु गरेर अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नति गर्ने योजना छ । अस्पतालमै जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेका चिकित्सक तथा नर्सको क्वाटर र प्रसुती गृह लामो समयदेखि निर्माणाधिन छ । निर्माण गरिसक्नुपर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
३३ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरमा तीन वटा भवन निर्माण गर्न बिकोई बिल्डर्स प्रालिसंग २१ अगस्त २०२० मा ठेक्का सम्झौता भएको थियो । १८ फेबु्रअरी २०२३ मा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म काम सम्पन्न भएको छैन ।
डडेल्धुरा अस्पतालमा भौतिक पुर्वाधार विकासका कामहरु सुस्त गतिमा भइरहेकाले निर्माण कार्यमा गति दिनुपर्ने स्थानीय बताउछन । अस्पतालमा हाल भवन र अन्य संरचनाहरु निर्माण भइरहेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.