अछाम–गतबर्षको वैशाखमा परीक्षा दिएर नतिजा पर्खिरहेका अछामका विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएका कारण फेरि परीक्षा दिनुपर्ने खबरले तनावमा छन ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट स्नातक तह पहिलो वर्षको दुई सयभन्दा बढी उत्तरपुस्तिका हराएपछि अछाम बहुमुखी क्याम्पस मंगलसेन र कमलबजार बहुमुखी क्याम्पसका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको हो । स्नातक तहको शिक्षा संकाय पहिलो वर्षको फाउन्डेसन अफ एजुकेसन (४१२) को परीक्षा गत वैशाख ८ मा भएको थियो । उक्त विषयको उत्तरपुस्तिका हराएपछि परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा चैत २१ गते बिहान ७ देखि १० बजेसम्म लिनका लागि अछाम बहुमुखी क्याम्पस र कमलबजार बहुमुखी क्याम्पसलाई पत्राचार गरिसकेको छ ।
विद्यार्थीलाई परीक्षामा उपस्थित हुनका लागि स्थानीय सञ्चारमाध्यमबाट सूचना, सामाजिक सञ्जालबाट जानकारी र व्यक्तिगत नम्बरमा म्यासेज पठाउने काम क्याम्पसहरूले गरिरहेका छन । विद्यार्थी भने पुनः परीक्षा दिनुपर्ने खबरले आक्रोशित छन । भविष्य बिगार्ने काम भएको विद्यार्थीको गुनासो छ । परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीले तनाव झेल्नुपरेको अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टले बताए । उनका अनुसार अछाम क्याम्पसका एक सय ५१ र कमलबजार बहुमुखी क्याम्पसका ५९ उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै गायब भएका हुन् ।
स्नातक तहको पहिलो वर्षको उत्तरपुस्तिका हराएका विद्यार्थी अहिले तेस्रो वर्षमा अध्ययन गर्नुपर्ने हो । तर त्रिविले समयमा परीक्षा नलिने, समयमै नतिजा प्रकाशित नगर्ने, चार वर्षको स्नातक तह सक्न छ/सात वर्ष नै लाग्ने गरेको छ । गत साता त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट स्नातक तह पहिलो वर्षको उत्तरपुस्तिका हराएको खबर सार्वजनिक भएको थियो । परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी उत्तरपुस्तिका हराएको हो ।
You might also like