अजयमेरु गाउँपालिकाको न्यायीक समिति सक्रिय

डडेल्धुरा–डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकामा रहेको न्यायीक समितिले प्रभावकारी रुपमा काम गर्न थालेपछि स्थानीयस्तरमा उत्पन्न हुने विवाद समाधान हुने गरेको छ ।
गाउँपालिका स्तरमा विवाद निरुपण र अन्यायमा परेका ब्यक्तिहरुलाई न्याय दिलाउन गाउँपालिका उपाध्यक्ष बसन्ती पाल नेतृत्वको न्यायीक समितिले अजयमेरु गाउँपालिकाका ६ वटै वडाहरुमा वडा स्तरीय सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ । अजयमेरु गाउँपालिकाले कार्यक्षेत्र भित्रका ६१ जना मेलमिलापकर्ताहरुलाई सामुदायीक मध्यस्तता र मेलमिलाप सम्बन्धि तालिम दिईएको र ६१ जना मेलमिलापकर्ताहरु गाउँपालिकाको न्यायिक समितिमा सुचिकृत भएको उजुरी प्रशासक यज्ञराज पन्तले बताउनुभयो ।
न्यायिक समिति सयोजक एबं गाउँपालिका उपाध्यक्ष पालका अनुसार सामान्य किसिमका झैझगडा तथा वादविवादहरु वडामा रहेको सामुदायीक मेलमिलाप केन्द्रमा छलफल गरेर निरुपण गरिएको छ । पालिका स्तरमा आएका विवादलाई पालिका स्तरको न्यायीक समितिमा छलफल गरेर चाँडो भन्दा चाँडो न्याय निरुपण गरिने उपाध्यक्ष पालले बताउनु भयो ।
गाउँपालिकामा गत आर्थिक वर्षमा दुई वटा उजुरी दर्ता भएकोमा दुईवटै विवाद निरुपण गरिएको र चालु आर्थिक वर्षमा तीन वटा उजुरी दर्ता भएकोमा सवै विवाद निरुपण भईसकेको उपाध्यक्ष पालले जानकारी दिनुभयो । सामुदायिक मेलमिलापको अवधारणा निकै राम्रो भएकोले पक्ष र विपक्षमा फैसाला सुनाउने भन्दा पनि दुबै पक्षको जित हुनेगरि मध्यस्तताको माध्यबाट विवाद निरुपण गरिने उँहाले बताउनुभयो ।
न्याय निरुपण प्रक्रियालाई अझै प्रभावकारी बनाउन समुदाय स्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको अजयमेरु गाउँपालिका न्यायिक समितिले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.