सम्झनामा रेडियो नेपाल
प्रिय सरु , यस पटकको गौरा मनाउन तिमि डडेल्धुरामा आउ है ...... खेलमेरीको भाका लिई देउडा खेल्नु पर्छ ...।
हात्ति बलियो कि हात्ति छाप चप्पल बलियो , उस्ता उस्तै हो नानु, गोरख काली टायर बलियो गुड्छ सरर आयो गोरखकाली , जस्ता बिज्ञापनहरु , पाण्डब सुनुवारको फोनईन र चौतारी कार्यक्रम , कोमल वलीको पञ्च कन्या लोक संगीत र समाचार अनि बाल कार्यक्रमको युगमा रेडियो नेपाल सुन्दै सुरु गरेको थिए । रेडियो मेरो शाथी थियो रेडियो नेपालकै कारण । गोठालो जाँदा होसकी कतै जाँदा पनी रेडियो संगको साथबाट कहिल्यै अलग्गीन सकिन ।
घरमै एउटामात्र रेडियो थियो , उसको स्याहार सुसार गर्ने सेलहरु घाममा सुकाउने , फेरी नयाँ सेलहरु किन्ने सवै जसो जिम्मेवारी पाएको थिए । बर्खामा मकैको झुका बनाउने काम गर्दा होसकी , हिउँदमा खर बोक्न जाँदा होस रेडियो डोकोमा बोकेर पनि सुन्न छाडिन । मेरो रेडियो प्रतिको लगावले होला घरका मान्छेहरु मेरो पढाई बिग्रिने कुरामा चिन्तीत बन्थे । न बिग्रोस पनि कसरी शनीबार बिहान ११ बजेको समाचार पछि आउने पाण्डब दाईको फोनईन, १२ बजे पछि आउने राजधानीका सन्देश त्यस पछि क्रमश आउने पञ्च कन्या लोक संगीत , शाथी संग मनका कुरा, सुरविर पण्डीतको रेडियो नाटक ।
बिहानको शंख ध्वन संगै सुरुहुने श्री ५ को महावाणी , धार्मिक कार्यक्रम यि सवै स्मरणिय लाग्छन । त्यो युगले वास्तवमै रेडियो ईतिहाँसको एउटा कालखण्डलाई सधाभरी सम्झन लायक बनाएको छ । पछिल्लो पुस्तामा आएका नवराज लम्साल, नबिन दहाल, लगाएतका प्रस्तोताहरुले रेडियो प्रस्तुतीलाई अझ दमदार बनाए । गजल गंगा र संगीत सरोवरको पारखि बन्न पुगेको मैले संगीत सरोवरलाई एउटा पत्र लेखे ।
प्रिय सरु , यस पटकको गौरा मनाउन तिमि डडेल्धुरामा आउ है …… खेलमेरीको भाका लिई देउडा खेल्नु पर्छ …। देउडावाटै हामि एक अर्कामाझ माया प्रेम गर्छौ भन्ने कुराको भाव दिनु पर्छ । टाउकोमा फेटा गुन्यु र चोलीमा सुदुरको बान्की कलामा आदी आदी भाव बोकेको पत्र नवराज दाईको समधुर आवाजमा सानु सायमीको नामबाट बाचन भएको थियो । खुशिले गदगद हुँदै बजिरहेको संगीत सरोबर सुनाउन म भाग्दै साथीकोमा पुगेको बिर्सेको छैन । क्षेत्रिय प्रशारण केन्द्र दिपायलको प्रशारणमा आउने संगालो, देउडागीतको सेरोफेरो , हजारी माला लिला गढतोला दिदिको आवाज अझै कानमा गुन्जिीरहन्छ ।
तेजु खड्का, धिरेन्द्र चटौत,उद्धव ढाँट, लगाएतका प्रस्तोताहरुको उत्कृष्ठ प्रस्तुतीले फेरी आफनो पन दिन थाल्यो। आफनो भाषा, संस्कृती र परम्परा समेत रेडियो नेपालबाट पाईन थाल्यो । २०५८ जेठ २० गतेको बिहान धार्मिक कार्यक्रम सकिए पछि आउने बिहान ७ बजेको समाचार आउनु पर्ने थियो तर त्यतीबेला सम्म पनि धार्मिक गीतहरु मात्र बजिरहेका थिए । २०५८ जेठ १९कै राती राजपरिवार हत्याकाण्ड भएको कारण दशौ दिन सम्म दुखद ध्वन मात्र बजिरहयो ।
यसले रेडियो पत्रकारीता क्षेत्रको निश्पक्षतामाथी तमामन प्रश्नहरु उब्जे । क्रान्ति र परिवर्तनको आवाज बोकेको रेडियो नेपालले मौसुफ सरकारको देहवसानको समाचार फुक्न नसक्दा पारखीहरु झसंग भए ।
लामो समय देशमा द्धोन्द भयो । त्यतीबेला सुनिने समाचार सिर्फ दोहरो भिडन्तमा मारिनेहरुका सवालमा थिए त अन्तराष्ट्रिय समाचारहरुमा पनि इजरायल र गाजा क्षेत्रमा भएका हमला र कन्दहारमा भएको बिमान अपहरणको सन्दर्भ निकै लोकप्रीय थियो । आजको युगमा पनि रेडियो नेपालले समय सान्दर्भिक रुपमा आफनो प्रशारणलाई दिईरहेको छ । तर राजनितिको चेपुवामा परेको जस्तै भान हुन्छ । हिजोको लोकप्रीयताको संस्थागत बिकास गर्न जरुरी छ । स्थापनाकालको ७४ औं बर्ष प्रवेसको यस पावन अवसरमा फेरी पनि नेपाली आवाजको पहिलो गुञ्जन रेडियो नेपाल चिर पर्यन्त सम्म युगीन आवाज वनिरहोस मंगलमय शुभकामना छ ।