डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने समयसिमा नजिकिँदै जाँदा सरकारको नेतृत्वका लागि राजनीतिक दलहरुबीच हानथाप शुरु भएको छ ।
सत्तारुढ नेपाली कांग्रेसभित्रै तिव्र असन्तुष्टि देखिए पनि तत्कालका लागि मुख्यमन्त्री शाह नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्नेमा कांग्रेस सांसदहरुमा फरक मत देखिएको छैन । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी तिव्र विवादको भूमरीमा फसेको छ । नागरिक उन्मुक्ति पार्टीका नेतादेखि सांसदसम्म दुई वटा समूह स्पष्ट ढंगले विभाजित छन । उनीहरु एक पक्ष अर्कोपक्षप्रति बिद्रोहको भूमिका निर्वाह गरिरहेका छन ।
पार्टी संरक्षक रहेका रेशमलाल चौधरी र रेशमपत्नी अध्यक्ष रञ्जिता श्रेष्ठबीच मतभिन्नता यतिसम्म गहिरिएको छ, कि नेता कार्यकर्तादेखि सांसदसम्म एकले अर्काको निर्णयविरुद्ध कदम चालिरहेका छन । रेशम पक्षधर कांग्रेस नेतृत्वकै अहिलेको सरकारलाई समर्थन गरेर बढी भन्दा बढी सांसदलाई मन्त्री बनाउने पक्षमा देखिएको छ भने रञ्जिता केन्द्रमा बनेको नयाँ समीकरण अनुसार प्रदेशमा कांग्रेस सरकारबाट समर्थन झिकेर नयाँ सरकार बनाउन सघाउने लाइनमा भएकोले अन्यौलता सिजर्ना भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण निर्णायक अबस्थामा रहेका स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टले बर्तमान सरकारलाई विश्वासको मत दिने सम्बन्धमा धारणा सार्वजनिक गर्न सकेका छैनन् । केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले विकल्प तयार गर्न सकेका छैनन् ।
चरम सत्ता लिप्साका कारण नयाँ सत्ता समिकरण सम्वद्ध दलहरु पनि आन्तरिक विवादमा फसेका छन । सुदूरपश्चिममा नयाँ गठबन्धनको ठुलो दल माओवादी केन्द्र झन् धेरै गहिरो आन्तरिक विवादमा छ । माओवादी केन्द्रका सांसदहरुमा आफू बन्ने त छँदैछ त्यो भन्दा बढी आफ्नै दलका अर्को सांसदलाई रोक्ने चिन्तामा छन । संसदीय दलका नेता खगराज भट्टलाई अर्को समूहका नेता मानबहादुर धामीले बहुमतको आडमा बर्खास्त गरेपछि व्याप्त विवाद बढ्दै गएको छ ।
माओवादी केन्द्रका सांसदहरुबीच आपसी टकराव चरम छ । बाह्रय रुपमा प्रकट नभए पनि एमालेभित्र पनि आपसी मेलमिलाप छैन । एकीकृत समाजवादीमा पनि एकले अर्कोलाई नटेर्ने अवस्था छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको विकल्प खोज्न आन्तरिक गृहकार्य हुन थालेको सम्वद्ध स्रोतहरुको दाबी छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नयाँ गठबन्धनमा सम्मानजनक हैसियत नमिलेमा मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन सक्ने चेतावनी दिन थालेका छन । ‘नयाँ गठबन्धनमा हाम्रो सम्मानजनक अवस्था स्वीकार्ने संकेत देखिँदैन, त्यसैले हामी चाँडै नयाँ निर्णयमा पुग्दैछौं ।’ सोडारीले भने, ‘मुख्यमन्त्री शाहले विश्वासको मत माग्ने बेला हाम्रो सहयोग रहन सक्छ ।’ सत्ता लिप्साका कारण दलहरुमा विवाद बढ्दै गएकाले अन्यौलता कायमै छ ।
You might also like