गणेशबहादुर मगर
डडेल्धुरा–बिसु पर्व मनाउन भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण बढदै गएको छ ।
नयाँ बर्षको दिन अर्थात वैशाख १ गते सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिएको छ । पर्व मनाउन घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
आईतबारसम्म भारतबाट स्वदेश फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले जानकारी दिए । माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखा परेको निर्देशनालयको तथ्यांक छ । पछिल्लो एक सातामा मात्रै ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना देखिएका सबै भारतबाट फर्किएका हुन । सिमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ ।
अहिले बढी केस देखा पर्न थाले पनि कोरोना नियन्त्रणमा सरोकारवालाको चासो देखिएको छैन । नाकामा अहिलेसम्म एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिरहेको जनाउँदै गौरीफन्टा नाकास्थित हेल्थडेस्कमा कार्यरत अहेब गणेश साउँदले परीक्षण किट अभाव भइरहेको दुखेसो पोखे । भारतको जोखिम क्षेत्रबाट आएका र सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण भएकाहरूको नाकामा परीक्षण गर्ने गरिएको छ । सामान्य खालको लक्षण भएकाहरूको परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको अहेब साउँदले बताए ।
कोरोना पुष्टि भएकालाई होम आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको छ । कोरोना सङ्क्रमण उकालो लागेपछि रोकथामको कार्य पनि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना रोकथाम गर्न निगरानी र परीक्षण गर्ने कार्य पनि भइरहेको निर्देशक डा. जोशीले जानकारी दिए ।