डडेल्धुरा–डडेल्धुराको अमरगढी नगरपालिका–६ स्थित दुमडा गाउँमा बुधबार आधुनिक वायूपङ्खी चुल्हो वितरण गरिएको छ ।
लाईभलीहुड फन्डको आर्थिक सहयोग तथा प्राक्ट्रिकल एक्सनको प्राविधिक सहयोगमा आस्था नेपालले कार्यान्वयन गरिरहेको उन्नत वायूपङ्खी चुल्होको बजारीकरण परियोजना अन्तर्गत उक्त आधुनिक वायूपङ्खी चुल्हो वितरण गरिएको हो । डडेल्धुराको लागी विक्रेता शैलेश्वरी मल्टी ईन्जीनियरिङ सेन्टरले दुमडा गाउँका ४६ घरधुरी बासिन्दाहरुलाई हरेक घरमा एक चुल्होको दरले आधुनिक वायूपङ्खी चुल्हो वितरण गरिएको कम्पनीका प्रतिनिधि सागर सेवाले जानकारी दिए ।
जलवायू मैत्री वायूपङ्खी चुल्होको प्रयोगले वातावरण, समय र स्वास्थ्यमा फाईदा पुग्ने आस्था नेपालका कर्मचारी यज्ञबहादुर भाटले बताए ।
वायूपङ्खी चुल्होको लागी परियोजना, अमरगढी–६ दुमडास्थित कालापत्थर सामुदायिक वन उपभोक्ता समुह र उपभोक्ताहरुले सहकार्य गरेका छन । हाल बजार मुल्य प्रति चुल्हो छ हजार चार सय १५ रुपैयाँमा बिक्री वितरण भइरहेको वायूपङ्खी चुल्हो खरिदमा परियोजनाको तर्फबाट तीन हजार सात सय रकम बराबारको अनुदान उपलब्ध गराईएको छ ।
कालापत्थर सामुदायिक वनले प्रति चुल्हो एक हजार सात सय १५ रुपैयाँ अनुदान दिएको छ । उपभोक्ताको तर्फबाट प्रति चुल्हो एक हजार रुपैयाँका दरले रकम असुल गरिएको छ । वायूपङ्खी चुल्हो हस्तान्तरण पूर्व चुल्होको प्रयो्ग विधी र मर्मत सम्भार सम्बन्धमा आस्था नेपालको तर्फबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।