नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै सुदूरपश्चिममा सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुगाईने
बाजुराबाट बिक्री वितरण शुरु
डडेल्धुरा–बर्षेनी पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिम प्रदेशमा यसवर्ष समयमै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरेर बिक्री वितरण सुरु भएको छ ।
प्रदेशको सबैभन्दा दुर्गममा रहेको बाजुरा जिल्लाका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण सुरु भएको हो । हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने शैक्षिक सत्र सुरु हुन अगावै पाठ्यपुस्तक वितरण सुरु भएको हो । बाजुराको अतिविकट कोल्टी क्षेत्रका लागि मंगलबारबाट पाठ्यपुस्तक वितरण भएका छन । कोल्टी क्षेत्रको स्वामीकात्तिक खापर गाउँपालिकाका लागि पुस्तक व्यवसायी नरेशजंग शाहीले २५ लाख मूल्यका पुस्तक लगेका छन । ‘गतवर्षको भन्दा एक महिना अगाडि नै पाठ्यपुस्तक पाएका छौं । चाहिने जति सेटमै पुस्तक पाइएका छन । यसपालि विद्यार्थीहरूले कक्षा शुरु हुनुपुर्व हातहातमा पाठ्यपुस्तक पाउने छन ।’ शाहीले भने ।
जनक शिक्षा सामाग्री केन्द्रले चैत १५ र १६ गते दार्चला, १७ गते बझाङ, १८ गते बैतडी, १९ गते अछाम, २० गते डोटी, २१ गते डडेल्धुरा, २२,२३ र २४ गते कञ्चनपुर र चैत २५,२६ र २७ गते कैलालीका व्यवसायीलाई पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको छ । जनक शिक्षा सामग्री केन्द्र, सुदूरपश्चिमले यसपालि सुदूरपश्चिमका लागि १९ लाख थान पुस्तक आवश्यक रहेको अनुमान गरेको छ । गत शैक्षिक सत्रमा १७ लाख पुस्तक खपत भएका आधारमा यसवर्षको अनुमानित पुस्तकको संख्या तय गरिएको हो । यसवर्ष पुस्तक व्यवसायी र जनक शिक्षाका पदाधिकारीबीच पुस्तक वितरणमा सहजताका लागि बैठकहरू बसेका छन ।
जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख रामबहादुर कुँवरले केन्द्रमा पुस्तक प्रकाशित भइसके पनि गोदाम अभावका कारण सतप्रतिशत भण्डारण गर्न नसकिएको बताए । ‘तर पनि २० प्रतिशत मात्रै पुस्तक आउन बाँकी छ । बाजुरा र बझाङका पुस्तक जाने बित्तिकै गोदाममा ठाउँ खाली भइहाल्छ । अनि बाँकी रहेका २० प्रतिशत पुस्तक पनि आइहाल्छन’, कुँवरले भने । उनले यसपालि पाठ्यपुस्तकको अभाव नहुने दाबी गरे । अहिले पर्याप्त पुस्तक आएको बताउँदै उनले नयाँ शैक्षिक सत्र शुरु हुनुपुर्व सुदूरपश्चिमका सबै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्ने जिकिर गरे ।