एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा

सुदूरपश्चिम प्रदेशबाट ५५ हजार विद्यार्थीले एसईई दिने

डडेल्धुरा–सुदूरपश्चिम प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पुर्ण तयारी पुरा भएको छ ।
यही चैत्र १५ गतेदेखि सुरु हुने एसईई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरूले परीक्षा दिने भएका छन । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्ण बहादुर बोहराले प्रदेशमा एसईई परीक्षाको सम्पुर्ण तयारी सकिएको जानकारी दिए ।
यस वर्ष सुदूरपश्चिम प्रदेशका ५५ हजार विद्यार्थीमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा रहेका छन । परीक्षाको मिति नजिकिँदै गर्दा सम्पुर्ण तयारी सकिएको निर्देशनालयले जनाएको छ । प्रदेशका नौ वटै जिल्लाका लागि दुई सय ११ परीक्षा केन्द्र, दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राअध्यक्ष तोकिएको बोहराले बताए ।
त्यस्तै परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर कुल आठ हजार एक सय ४३ जना कर्मचारीहरू परिचालित हुने निर्देशनालयले जनाएको छ ।
परीक्षामा सहभागी हुने मध्ये सबैभन्दा बढी कैलालीबाट १८ हजार सात सय २० परीक्षार्थी छन । कञ्चनपुरबाट १० हजार तीन सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार नौ सय ५० विद्यार्थीले एसईई परीक्षा दिने छन ।
बझाङ्गबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार तीन सय २८, बाजुराबाट दुई हजार नौ सय ३४, दार्चुलाबाट दुई हजार सात सय ५० र डडेल्धुराबाट दुई हजार पाँच सय ५७ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ ।
यस वर्ष सुदूरपश्चिममा तीन वटा परीक्षा केन्द्र थपिएका छन । गत वर्ष दुई सय आठ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष दुई सय ११ परीक्षा केन्द्र कायम गरिएको निर्देशनालयले जनाएको छ । यस वर्ष दुई वटा कञ्चनपुर र एउटा बझाङ्गमा थप केन्द्र तोकिएको थियो ।
यस वर्ष परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए । उनका अनुसार पहिला आठ सय पूर्णाङ्कको हुन्थ्यो भने अहिले सात सयको हुनेछ । प्राविधिक तर्फ पनि पहिला १० विषय हुन्थ्यो भने अहिले ९ विषय रहेको उनले बताए ।
यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन । यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रश्न पत्र देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइ सकिएको छ ।

You might also like