डडेल्धुरा–हरेक बर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आईतबार देशका हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व परम्परागत रूपमा विभिन्न रङ खेलेर मनाउने प्राचीन परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा होली पर्व मनाइन्छ । होली पर्व एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा खेलिने परम्परागत होलीमा महिला र पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाकासाथ विभिन्न किसिमका लोक गाथामा आधारित होली गीतहरु गाएर सामुहिक नृत्य गरिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरमा चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चैत ४ गतेका दिन चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन छ । होली पर्वले समाजमा सदभाव् बढाउन टेवा पुगाएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा होली खेलेर आर्थिक स्रोत जुटाउँदै बिभिन्न सामाजिक कार्यहरुमा खर्च गर्ने परम्परासमेत छ । बिभिन्न सामाजिक संघ संस्था र क्लवहरुले सामुहिक रुपमा होली खेलेर आर्थिक स्रोत जुटाउँदै सामाजिक कार्यमा खर्च गर्ने गरेका छन । पछिल्लो समयमा सामुदायीक विद्यालय, क्याम्पस र शैक्षिक संस्थाहरुले पनि सामुहिक रुपमा होली खेलेर आर्थिक स्रोत जुटाउने गरेका छन ।
You might also like