डडेल्धुरामा पाँच बर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु

गणेशबहादुर मगर
डडेल्धुराः क्षयरोगको उच्च जोखिममा रहेको डडेल्धुरामा क्षयरोगबाट पछिल्ला पाँच वर्षमा २५ जनाको मृत्यु भएको छ ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं,’ भन्ने नारासहित आईतबार विश्व क्षयरोग दिवस २०८० मनाईरँहदा स्वास्थ्य कार्यालय डडेल्धुराले सम्पन्न गरेको सञ्चारकर्मीसँगको अन्तिरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा तीन जना, आर्थिक बर्ष ०७७÷०७८ मा छ जना, आर्थिक बष ०७८÷०७९ मा तीन जना, आर्थिक बष ०७९÷०८० मा सात जना र चालु आर्थिक वर्ष ०८०÷०८१ को फागुन मसान्तसम्मको अवधीमा छ जना क्षयरोग संक्रमतिहरुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका चार जना र भागेश्वर गाउँपालिकाका दुई जना क्षयरोग संक्रमतिको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत हरिप्रसाद भट्टले बताए । ‘ढिलो चेकजाँचमा आएकाहरूको मृत्यु हुने गरेको छ । अधिकांस क्षयरोग संक्रमितहरु उपचारको दायरामा नआउने समस्या छ,’ उनले भने, ‘सम्पर्कमा आएका बिरामीहरु पनि नियमित औषधि सेवन नगर्ने भएकाले मृत्युदर उच्च देखिएको छ ।’
क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र स्थापना गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ । अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११÷११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकामा ९÷९ जना संक्रमित भेटिएको भट्टले जानकारी दिए ।
यस वर्ष डडेल्धुरामा तीन सय २४ जना नयाँ क्षयरोग संक्रमित लगाउनुपर्ने लक्ष्य छ । स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भवानीसिंह कुँवरले क्षयरोग बारेमा सबैले जनचेनता जगाउन जोड दिनुपर्ने बताए । ‘निरन्तर खोकी लागेमा समयमै चेकजाँच गरेर क्षयरोग पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘रोग पत्ता लागेपछि त्यसको उपचार सहज छ । नियमित रुपमा औषधि सेवन गरेमा बिरामी निको हुन्छ ।’
हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन । दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोगको परिक्षण गर्न सकिन्छ । डडेल्धुराका तीन स्थानीय तह अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा हाल क्षयरोग मुक्त पालिका घोषणा अभियानका रुपमा सञ्चालित छ ।
राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन । नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएका केन्द्रले जनाएको छ । नेपालमा क्षयरोगका कारण बर्सेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ । हाल मुलुकभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको छ । क्षयरोगको जोखिममा कुपोषण भएका, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेको स्वास्थ्यकर्मीहरु बताउछन ।
स्वास्थ्य निर्देशनालय दिपालयकाअनुसार चालु आर्थिक बर्षमा हालसम्म सुदूरपश्चिम प्रदेशभरी दुई हजार ८८ क्षयरोगका बिरामीहरु फेला परेका छन । सबैभन्दा बढी कैलालीमा आठ सय ९१ जना र कञ्चनपुरमा पाँच सय ४७ जना बिरामी भेटिएका छन ।
यस्तै बझाङमा एक सय नौ जना, बैतडीमा एक सय सात जना, डोटीमा ९८ जना, अछाममा ९० जना, डडेल्धुरामा ८९ जना, बाजुरामा ८८ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी रहेका स्वास्थ्य निर्देशनालय दिपायलका क्षय कुष्ठ रोग अधिकृत मनोज ओझाले जानकारी दिए । पत्ता लागेका सबै बिरामीहरु सम्बन्धित जिल्लाका स्वास्थ्य संस्थाहरुको निगरानीमा उपचारमा छन ।
यस्तै चालु आर्थिक बर्षको फागुनसम्म सुदूरपश्चिममा क्षयरोगका कारण ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा ३० जनाको मृत्यु भएको छ भने कञ्चनपुरमा १५ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा आठ जना, डडेल्धुरामा छ जना, डोटीमा चार जना, अछाम र बाजुरामा दुई÷दुइ जना, दार्चुला र बझाङमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
समुदायमा भएका सबै क्षयरोगका बिरामीहरुलाई अझै उपचारमा ल्याउन नसकेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन । चालु आर्थिक बर्षमा प्रदेशभरी छ हजार तीन सय १५ जना बिरामी पत्ता लगाउनुपर्ने लक्ष्य रहेको भए पनि हालसम्म दुई हजार ८८ जनामात्रै पत्ता लागेका छन । क्षयरोगको निशुल्क उपचार हुने भएपनि क्षयरोगका बिरामीहरुलाई उपचारमा ल्याउन समस्या भइरहेको ओझाले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.