सुदूरपश्चिममा आगलागीबाट पछिल्ला आठ महिनामा झण्डै साढे चार करोडको क्षति

धनगढी–सुदूरपश्चिममा पछिल्ला आठ महिनामा आगलागीबाट चार करोड ४६ लाख ७४ हजार चार सय ५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा आगलागीबाट तीन महिला र तीन पुरुष गरेर प्रदेशभर छ जनाको मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्ष सुरु भएको आठ महिने अवधिमा प्रदेशका नौवटै जिल्लामा आगलागीका घटनाहरु दोहोरिएका छन । भौतिक र आर्थिकसँगै आगलागीबाट मानवीय क्षति भएको छ ।
आगलागीबाट १२ महिला र आठ जना पुरुष गरेर २० जना घाइते भएका छन । यसका साथै यसप्रकारको घटनाबाट एक सय ५६ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांकमा उल्लेख छ । आगलागीबाट १३ घरमा आंशिक र १६ घरमा पूर्ण क्षति पुगेको छ । सो अवधिमा ३१ वटा गोठमा आगलागी भएर ४० पशु चौपायामा क्षति पुगेको छ । चालु आर्थिक बर्षमा आगलागीका घटनाबाट सुदूरपश्चिम प्रदेशभर चार करोड ४६ लाख ७४ हजार चार सय ५० मुल्य बराबरको धनमाल जलेर नष्ट भएको केन्द्रको अनुमान छ । प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी आगलागीबाटै हुने गरेको पाइएको छ ।
विशेष गरी आगलागीका घटना विद्युतको तार सर्ट भएर, ग्यास लिक भएर, एक स्थानमा बालेको आगो अर्का स्थानमा सल्केर, विद्युतीय उपकरण पट्केर, अज्ञात व्यक्तिले गरेको बदमासीले र चुरोट तथा बिडीका ठुटा जथाभावी फाल्नेलगायत कारणबाट हुने गरेको देखिएको छ । पछिल्लो समय विद्युतको तार सर्ट भएर आगलगीका बढि घटना हुने गरेका छन । आगलागीको सिजन भने बल्ल शुरु भएको छ । सिजन अघिनै आगलागीबाट ठुलो नोक्सानी भएकाले गर्मीयाममा अझ बढि जोखिम हुने केन्द्रले जनाएको छ ।

You might also like