डडेल्धुरा–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशसभामा निर्णायक अबस्थामा रहेको नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूसँग शनिबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रस्ताव गरेका हुन । कांग्रेस नेतृत्वको सरकार रहेको सुदूरपश्चिममा हाल नागरिक उन्मुक्ति पार्टीका पाँच जना मन्त्री छन । प्रधानमन्त्रीले संघीय सरकारमा सहभागी हुन र सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गरेको र यस विषयमा पार्टीभित्र आन्तरिक छलफल भइरहेको अध्यक्ष श्रेष्ठले झिल्को न्यूज सँगको टेलिफोन कुराकानीमा बताईन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको साथविना नयाँ गठबन्धनको सरकार बन्ने सम्भव छैन । प्रधानमन्त्री भेट्न पुगेका नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सुदूरपश्चिममा मात्र नभई लुम्बिनी र मधेश प्रदेशमा पनि आफूहरूको प्रतिनिधित्व रहेको भन्दै त्योअनुसारको उपस्थिति हुनुपर्ने माग राखेका थिए ।
‘सुदूरपश्चिम, लुम्बिनी र मधेशमा हाम्रा सांसदहरू हुनुहुन्छ । केन्द्रमा पनि हाम्रो उपस्थिति छ । त्यहीअनुसारको हाम्रो मूल्याङ्कन हुनुपर्छ,’ भेटघाटमा सहभागी टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डँगौराले सत्ता साझेदारीका बारेमा नागरिक उन्मुक्ति पार्टीका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भनेका कुरा उद्धृतगर्दै टेलिफोनमा भने, ‘हामीले हाम्रो सम्मानजनक उपस्थिति भए नयाँ गठबन्धनको सरकारमा सहभागी हुने बताएका छौ ।’
‘संसदमा उपस्थितिअनुसार नागरिक उन्मुक्ति पार्टीको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, आजको छलफल सकारात्मक निकै भयो,’ नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका नगरप्रमुख डाँगौराले थपे, ‘प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेपछि हाम्रो विषय टुङ्गो लाग्छ ।’
उनले आफूहरूको सम्मानजनक उपस्थिति हुने अवस्थामा नयाँ गठबन्धनलाई साथ दिने सम्भावना रहेको बताए । यसअघि नै नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिइसकेको छ । विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने सहभागी भएको छैन ।
शनिबारको छलफलपछि सरकारमा सहभागी हुने बाटो खुलेको नागरिक उन्मुक्ति पार्टीका नेताहरूको बुझाइ छ । पार्टी अध्यक्ष श्रेष्ठले सुरुबाटै एमाले–माओवादी नेतृत्वको नयाँ गठबन्धनमा सहभागी हुन चाहेको तर, उनका श्रीमानसमेत रहेका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन थालेपछि उनीहरूबीच तिक्तता देखिएको छ ।
अहिले केन्द्रमा नयाँ गठबन्धनमा सहभागी हुनेबारे केन्द्रीय अध्यक्षसहितका नेताहरूले छलफल गर्दा रेशम चौधरी जापानमा छन । केन्द्रमा नयाँ गठबन्धनलाई साथ दिने गरी नाउपा अघि बढेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने आफ्नो सरकारले विश्वासको मत पाउने विश्वासमा छन ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा छन । उनले चैतको २३ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने कानूनी बाध्यता छ । नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादका कारण पनि मुख्यमन्त्री शाह सो पार्टीका पूरै ७ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनेमा ढुक्क छैनन् । भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीबाट हटाइएका नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी रुष्ट छन । बिना विभागीय मन्त्रीहरु लक्ष्मणकिशोर चौधरी र खुसीराम चौधरी विभाग नतोकेको भन्दै रुष्ट छन ।
You might also like