एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई माउन्टेन बोर्डिङ स्कुलको विदाई
विद्यार्थीले पकाएमा मौलिक खानाका परिकारहरु देखेर कार्यक्रमका सहभागीहरु छक्क !
डेल्धुरा,डडेल्धुरा सदरमुकामस्थित निजी क्षेत्रको शिर्षस्थ तथा अग्रणी शैक्षिक प्रतिष्ठान माउण्टेन बोर्डिङ स्कुलले शनिबार भब्य समारोहको आयोजना गरेर माध्यामिक शिक्षा परीक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरेको छ ।
विदाई कार्यक्रमका अवशरमा अमरगढी नगरपालिका–बागवजारमा २०४६ सालमा स्थापना भएको माउण्टेन बोर्डिङ स्कुलले सांस्कृतिक कार्यक्रमसँगै विद्यालयमा बिभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य पदमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले प्रमुख अतिथिको आसनबाट बोल्दै हरेक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्र्धी गर्नु आजको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नारदप्रसाद जोशीले नाफामुलक गतिविधीमा मात्रै केन्द्रित नरहेर निजी शैक्षिक संस्थाहरुले शैक्षिक गुणस्तर बढाउन योजनावद्ध रुपमा काम गर्न जरुरी रहेको औल्याए । उनले माउन्टेन बोर्डिङ स्कुलले विद्यार्थीहरुलाई मौलिक खानाका परिकारहरु पकाउने सिप सिकाउन गरेको प्रयत्न निकै सिर्जनात्मक रहेको भन्दै प्रंससा गरे ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका तर्फबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेका फुड स्टल रहेका थिए । फुड स्टलमा विभिन्न मौलिक खानाका परिकारहरुको प्रदर्शनी तथा बिक्री गरिएको विद्यालयका प्रिन्सीपल महेश महराले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले फुड स्टलको अवलोकन गरेका थिए । कार्यक्रममा डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दीपककुमार कार्की, अमरगढी नगरपालिकाका पूर्व नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री, पतञ्जली योगपिठ सुदूरपश्चिम प्रदेशका सहप्रभारी गोविन्दसिँह खडायत, विद्यालयका भुतपुर्व शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित अभिभावकहरुको सहभागिता थियो ।