सामुदायीक बीउबैंक र रैथाने बीउको संरक्षण
सामुदायीक बीउ बैंक स्थापना गरियो तर दिगोपनाको रणनीतिको बारेमा सोचिएन
गणेशबहादुर मगर
यसवर्ष फागुनको पहिलो हप्तातिर एकाबिहानै सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य कमला विष्ट दिदीबाट सुदुरपश्चिम प्रदेशका चार वटा जिल्ला घुमेर सामुदायीक बीउ बैंकको अवस्थाको बारेमा अध्ययन गर्न जानुपर्ने प्रस्ताव आयो । उँहाले समय मिलाउन सकिन्छ ? भनेर सोध्नु भयो । सञ्चारकर्ममा लागेपछि मेरो लेख्ने शौख बन्न थालेको छ । त्यसैमा पनि सिमान्तकृत समुदायका विविध सवालहरुमा केन्द्रित भएर कलम चलाउन मन लाग्छ । घुम्ने शौख त मेरो पुरानै हो । त्यसैले कमला दिदीको प्रस्तावलाई नकार्ने कुनै ठाँउ नै थिएन । कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा रहेका सामुदायिक विउ बैँकको अध्ययनमा सहयोगीको रुपमा सहभागी भए ।
विउबैँक पदाधिकारी संग छलफल गर्दै
काठमाण्डौस्थित एक परामर्शदाता कम्पनीको तर्फबाट देशभरका ३० वटा सामुदायीक बीउ बैँकको अध्ययन गर्ने कार्यक्रमअनुसार हाम्रो टोलीले सुदुरपश्चिमका चार जिल्लाका कुल सात वटा सामुदायीक बीउ बैंकको अध्ययन गर्ने र तीन वटा जिल्लाका कृषि ज्ञान केन्द्रसंग सामुदायीक बीउ बैंकको बारेमा छलफल गर्ने अवसर प्राप्त भयो । विश्वमा करिव ३०–३५ वर्ष पहिलेदेखि सामुदायीक बीउ बैंक स्थापनाको अवधारणा आएको पनि नेपाल सरकारले करिव १५–१६ वर्षदेखि मुलुकमा सामुदायीक बीउ बैँक स्थापन गर्न थालेको उपलब्ध तथ्य र तथ्यांकहरुले जनाउछन । अपितु, नेपालमा सामुदायीक बीउ बैँकको विषयमा छलफल हुन थालेको भने सन् २००९ तिर हो । यस पटकको अध्ययन भ्रमणमा हामी दुई जना थियौं, कमला विष्ट दिदी र म । सात वटा सामुदायीक बीउ बैंकको स्थलगत अध्ययन गरेर बीउ बैँकको तत्कालीन अवस्था, नीतिगत व्यवस्था र भविष्यमा सामुदायीक विउ बैँकलाई कसरी दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भनेर कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरुसंग छलफल गर्न निस्केका थियौँ ।
कैलालीको कैलारी गाउँपालिकाको जनवातावरण सहकारीमा हाम्रो टोली
किन जन्मियो सामुदायीक बीउ बैंक ?
सामुदायीक बीउ बैँकहरुसंगको छलफल पश्चात सामुदायीक बीउ बैँक स्थापनाका निम्न उद्देश्यहरु बारेमा जानकार भईयो ।
१. स्थानीय तथा रैथाने वाली तथा जातहरुको संरक्षण गर्न ।
२. कृषकहरुलाई आवश्यक पर्ने थरिथरिका शुद्ध र गुणस्तरीय बीउको उपलब्धता बढाउन ।
३. बीउमा कृषक अधिकार तथा खाद्य सम्प्रुभताको सुनिश्चितता गर्न ।
अधिकांस सामुदायीक बीउ बैँकहरु उल्लेखित उद्देश्यहरु प्राप्तीका लागी खोलिएका रहेछन र केही सामुदायीक बीउ बैँकहरुले लोपोन्मुख तथा रैथाने वालीहरु निकै मज्जाले संरक्षण गरेको देख्दा निकै खुसी लाग्यो । लोप हुन लागेका रैथाने वालीको खेतीपातीलाई सानो मात्रामा भए पनि निरन्तरता दिन खोज्नु पनि खुसीको कुरा हो । अचम्म लाग्दो नयाँ जानकारीको कुरा त के रह्यो भने हाम्रा पुर्खाहरुले नै सुक्खा र खडेरी सहन सक्ने जातका बालीहरुको प्रयोग गरेर खेतीपाती गर्ने गरेका रहेछन । अहिलेको अबस्थामा त्यस्ता बालीहरु लोप हुदै गईरहेका छन । खानेबेला निकै स्वादिलो हुने, वालीमा रोग किरा कम लाग्ने, भण्डारणमा किराहरु कम लाग्ने प्रजातीका विभिन्न जातहरु पुर्खाले नै प्रयोगमा ल्याएका रहेछन । यी प्रजातीहरुको संरक्षणमा सामुदायिक बीउ बैंकले खेल्ने भुमिका अतुलनीय छ ।
सुदुरपश्चिमका प्रायः सबै सामुदायीक बीउ बैँकहरुलाई लि–वर्ड भन्ने संस्थाले सिकाई रहेको रहेछ, सहयोग गरिरहेको रहेछ । हामीले घुमेका मध्ये डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं.१ गैराबजारमा रहेको जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाद्वारा सञ्चालित सामुदायीक बीउ बैँक, कञ्चनपुरको लालझाडीमा रहेको अनमोल कृषि सहकारी संस्था तथा कैलारीको जनवातावरण बहुउद्देश्यीय सहकारीद्वारा सञ्चालन गरिएका सामुदायीक बीउ बैंकहरु भने लोभ लाग्दा छन । समुदायमा रैथाने बाली संरक्षणका लागि बीउ बैंकहरुले पुगाएको योगदान निकै महत्वपुर्ण छ ।
कञ्चनपुरको लालझाडी स्थित अनमोल सहकारीमा हाम्रो टोली
व्यवस्थापकीय समस्याहरु
हामीले अध्ययनको क्रममा सामुदायीक बीउ बैंक सञ्चालनका लागी केही समस्याहरु देख्यौँ । बुँदागत रुपमा सामुदायीक बीउ बैंकमा देखिएका व्यवस्थापकीय समस्याहरुलाई यहाँ समेट्ने प्रयास गरेको छु ।
बैधानिकता:
सामुदायीक बीउ बैंकको स्वायत्व हुनुपर्ने हो तर नेपालमा सामुदायीक बीउ बैंक दर्ता गर्ने बैधानिक प्रावधान नहुँदा अधिकांस सामुदायीक बीउ बैंक सहकारी संस्थाको एक पाटोको रुपमा संञ्चालन भईरहेका छन । सामुदायीक बीउ बैंकको छुट्टै बैंक खाता भेटिदैन । सामुदायीक बीउ बैंकको छुट्टै लेखा व्यवस्थापन नहुँदा कता कता के के नमिलेको जस्तो देखिन्छ ।
सामुहिकताको अभाव :
हामीले अध्ययन गरेका अधिकांस सामुदायीक बीउ बैंकमा सामुहिकताको अभाव देखियो । सामुदायीक बीउ बैंक कस्को लागी ? सामुदायीक बीउ बैंकले कस्लाई फाईदा गरिरहेको छ ? सामुदायीक बीउ बैंक भनेर स्थापना गरिसकेपछि सबैको समान दायित्व हुनुपर्ने होईन र ? तर सहकारी संस्थाको कार्यसमिति पदाधिकारीहरु र सामुदायीक बीउ बैंक सञ्चालक समितिको मात्र दायित्व हो भनेर समुदायका सदस्यहरु पन्छिने गरेको पाईयो । यसले सामुदायीक बीउ बैंक हुन या सहकारी संस्थाका बीउ बैंक हुन छुट्याउन गाह्रो देखिएको छ ।
स्थानीय जात र रैथाने बालीमा घट्दो आकर्षण:
पछिल्लो समय रैथाने प्रजातीका बालीहरुको संरक्षण गर्नुपर्छ भनेर सरकार तथा गैरसरकारी संघ संस्थाहरु लागी परेका छन । किसानहरुमा पनि स्थानीय जातहरुमा मल धेरै प्रयोग गर्न नपर्ने तथा खेतीपातीको लागत कम हुने हुँदा उन्नत जात भन्दा स्थानीय जात उपयुक्त हुने जानकारी सम्म छ । परन्तु, पछिल्लो समयमा उन्नत जातको खेतीपातीमा उत्पादन धेरै हुने र तुलनात्मक रुपमा स्थानीय भन्दा बढी फाईदा हुने भ्रमले किसानहरुमा गहिरो छाप बसेको पाइन्छ । यसर्थ पनि स्थानीय जातको खेतीपातीमा आकर्षण घट्दो छ ।
सरकारको प्राथमिकतामा नपर्नु:
अध्ययनको क्रममा सात वटा सामुदायीक बीउ बैंक घुम्दै गर्दा सञ्चालकहरुलाई हामीले एउटै प्रश्न दोहो¥याउथ्यौ–‘के तपाईलाई स्थानीय सरकारको सहयोग प्राप्त हुने गरेको छ ?’ सात वटा मध्ये एउटा मात्रै सामुदायीक बीउ बैंकका सञ्चालकहरुले वडा सरकारको तर्फबाट सामान्य सहयोग प्राप्त भएको जवाफ दिएका थिए । स्थानीय सरकारको सामान्य सहयोग प्रतिको धारणा बुझ्नका लागि यो तथ्यनै काफी छ । अध्ययन पश्चात सुदुरपश्चिममा सामुदायीक बीउ बैंकको अवस्था नीतिगत व्यवस्थाको बारेमा बुझ्ने धेरै प्रयास गरियो । सरोकारवाला निकायहरुबाट खासै सूचना प्राप्त गर्न सकिएन् । सुदूरपश्चिमका तीन वटा कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरुको प्रतिकृया बुझ्दा रैथाने बाली प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेको बाहेक सामुदायीक बीउ बैंकका बारेमा अन्य कुनै खास कुरा सुन्न पाईएन ।
धेरै पटक घोत्लिएर लोकप्रिय इन्टरनेट सर्च इन्जिन गुगलमा सामुदायीक बीउ बैंक र सुदूरपश्चिममा सामुदायीक बीउ बैंक सर्च गरे, तर केहि जानकारीहरु भटिएन । अन्तमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल ललितपुरबाट जारी भएको रैथाने बाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम कार्यान्वय कार्यविधि २०७५ नै सुदूरपश्चिमको लागी निर्देशन दिने दस्तावेज होला भनेर ढुक्क भए ।
डडेल्धुरामा सामुदायिक बीउ बैंक
२०७३ सम्म अमरगढी नगरपालिकाको वडा नं.७ मा रहेको सामुदायीक बीउ बैंकले केही रैथाने प्रजातीहरुको संरक्षण गर्दै उन्नत मकैको बिउ संकलन गरी सुदुरपश्चिम मात्र नभएर पूर्वी नेपालका बिभिन्न जिल्लासम्म निर्यात गरिरहेको भन्ने समाचार यिनै हातले लेखिएको हो । तर यो पटकको भ्रमणमा सामुदायीक बीउ बैंकको नाम लेखिएको बोर्ड मात्र देखियो । केही वर्ष पहिले एउटा गैर सरकारी संस्थाले जिल्लाको पाँच वटा स्थानमा सामुदायीक बीउ बैंकका स्थापना गरेको थियो । जस मध्येको एक आलिताल गाउँपालिका–८ डोला गाउँमा थियो । अहिले जाँदा स्थानीय भन्छन–‘परियोजनासंगै सामुदायीक बीउ बैंक पनि सकियो ।’
अध्ययनको निष्कर्ष के निस्कियो ? यो त सबै जिल्लाको प्रतिवेदनलाई विश्लेषण गरिसकेपछी आउने नतिजाले बताउला । तर हामी दुई जनाको निष्कर्ष थियो,‘सामुदायीक बीउ बैंक स्थापना गरियो तर दिगोपनाको रणनीतिको बारेमा सोचिएन ।’ “अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु” भनेझैँ आउनसक्ने भोकमरीको सामना गर्न सर्वप्रथम त पुरानो जातका बीउको संरक्षण एवम सम्बद्र्धन गर्ने र नयाँ जातको विकास गर्नु पर्छ । जसको लागि स्थानीय स्तरमा उपलब्ध भएका रैथाने बालीका जातहरुबारे तथ्यांक संकलन गर्ने, बीउ मेलाको आयोजना गरी जम्मा भएका बीउलाई सामुदायिक बीउ तथा फिल्ड जिन बैंक स्थापना गरी राख्न सकियो भने कृषकलाई समयमै उचित बीउ उपलब्ध हुने र हाईब्रिड बीउमा रहने निर्भरता हटाउने, उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोगसँगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानीसँग सुहाउने, रोगकिरा सहन सक्ने, गुणस्तरीय, जलवायु परिवर्तन तथा प्रतिकूल मौसम अनुसारको नया जातका बीउ विकास गर्न सकिने हुन्छ । यसैगरी स्थानीय धर्म र संस्कृतिसँग सम्बन्धित तर लोपोन्मुख भएका जातहरुसहित ती जातबारे ज्ञान सीप र प्रविधिका विषयमा अभिलेखिकरण सहित संरक्षण गर्ने भएकाले भावी पुस्ताका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।