गणेशबहादुर मगर
डडेल्धुरा–सामुदायीक विद्यालयहरुमा खस्किदो शैक्षिक गुणस्तरमा सुधार गर्ने उदेश्यले डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नयाँ प्रयास थालनी गरेको छ ।
गाउँपालिका भित्रका सबै सामुदायीक विद्यालयहरुमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै अतिरिक्त कक्षा ब्यवस्था गरिएको छ । कक्षा ८ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर तीन महिने अतिरिक्त कक्षा सञ्चालन गरिएको नवदुर्गा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
लक्षित सबै विद्यार्थीहरुको अतिरिक्त कक्षामा समान पहुँच पु¥याउने उद्देश्यले मुख्यतया अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सम्बन्धित समुदायीक विद्यालयमै सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट बोगटीले जानकारी दिइन । अतिरिक्त कक्षामा पढाउने शिक्षकहरुलाई पारिश्रमिक वाफत गाउँपालिकाले प्रति विद्यार्थी मासिक तीन सय रुपैयाँका दरले अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए ।
तीन महिनासम्म नियमित अतिरिक्त कक्षा सञ्चालन गर्न सम्बन्धित विद्यालयका शिक्षकहरुले जिम्वेवारी लिएको र कक्षा ८ र १० का विद्यार्थीहरुले पायक पर्ने समय मिलाएर विहान बेलुकी अतिरिक्त कक्षामा सहभागी हुने गरेको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले जानकारी दिए । नवदुर्गा गाउँपालिकाले शिक्षाको गुणस्तर बढाउन योजनावद्ध ढंगले काम गरिरहेको उनले दाबी गरे ।
सामुदायीक विद्यालयको नियमित अनुगमनको क्रममा सबै विद्यार्थीहरु पैसा तिरेर अतिरिक्त कक्षा लिन नसक्ने देखिएकाले गाउँपालिकाको तर्फबाट १७ लाख बजेट विनियोजन गरेर सबै सामुदायीक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिएको र यसबाट शैक्षिक उपलब्धि हासिल हुने प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले बताए ।
You might also like