परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण

छानविन गर्न चार सदस्यीय समिति गठन

डडेल्धुरा–डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगर कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
जोशीमाथि कुटपिट भएको एक सातापछि बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्बपक्षीय बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा नायब सुब्बा चन्द्रबहादुर रोकाया, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र राष्ट्रिय अनुसन्धान कार्यालय डडेल्धुराका प्रतिनिधिलाई सदस्य राखिएको छ ।
छानबिन समितिका संयोजक जोशीका अनुसार बुधबार सम्पन्न बैठकमा कार्यालयको सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीलाई बिहीबारदेखि सेवा सुचारु गर्न आग्रह गर्ने, स्थानीय प्रशासनले सुरक्षाको व्यवस्थापन गर्ने, उप्राप्त त्यस्ता घटना घट्न नदिने र चार सदस्यीय समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, कुटपिटमा संलग्न रहेको आरोप लागेकी परशुराम नगरपालिकाकी उपमेयर बिमला बोहरा र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
गत बिहीबार जोशीमाथि कार्यपालिका बैठकमा निर्घात कुटपिट भएको हो । कुटपिटपछि कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै कार्यपालिका बैठकमा उपमेयर बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीको समूहले ज्यानमार्ने उद्देश्यले सुनियोजित हमला गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गम्भिर घाइते बनाएको उल्लेख गरेका थिए ।
आरोपित जनप्रतिनिधीहरुले निराधार आरोप लगाएको बताउँदै आएका छन । नगरपालिकामा कार्यरत कर्मचारीहरुले कुटपिटमा संलग्नलाई कारवाहीको मागगर्दै नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर्र आन्दोलन गरिरहेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.