आहा ! मनमोहक आलिताल (फोटोफिचर)
आलिताल घुम्नको लागी उपयुक्त मौसम यही हो
शब्द/तस्बिर :- गणेशबहादुर मगर
हरेक बर्ष हिउँदमा आफैले आफुलाई सफा गरेर बसन्त आगमनलाई स्वागत गर्ने गरेको मनमोहक आलितालमा यसबर्ष हिउँदे सिजन पारेर नेपाली सेनाको दह ब्यारेकस्थित रणबम दल गण र आलिताल गाउँपालिकाको अगुवाईमा एक साता वृहत सरसफाई कार्यक्रम सम्पन्न भयो । स्थानीयको सहभागितामा तालको वरपर सरसफाई भइरहँदा तालले भित्रैदेखि आफुलाई सफा गरेर चिटिक्क बनाई रहेको थियो ।
डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–३ स्थित मनमोहक आलितालको सुन्दरताको व्याख्या गरिसाध्य छैन । बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको आलिताल पुग्दा स्वर्ग पुगेको आभास हुन्छ । दिनभर रूप फेरिरहने आलिताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलले सजिएर ‘स्वर्गकी अप्सरा’ जस्तै देखिन्छ । बसन्त आगमनसँगै घामको किरणअनुसार आलितालले रंग फेरिरहन्छ । प्रकृतिको यस मनमोहक रङ्गमा मानवको मन चञ्चल र उमङ्गित हुन जान्छ ।
केहि दिन पहिले नेपालका अग्रज टेलिभिजन पत्रकार टिकाराम यात्रीले आलितालको भ्रमण गरेर स्थलगत रिर्पोटिङ गरे । हाल यात्रीले आलितालमा छायांकन गरेका मनमोहक भिडियोहरुले सामाजिक सञ्जालहरु रंगाईरहेको छ । २०८० चैत ५ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष के.पी.शर्मा ओलीले जीवन संगिनी राधिका शाक्य र तमाम नेतागण तथा कार्यकर्ताहरुको दलबलसहित आलितालको भ्रमण गरेपछि पुनः एक पटक आलितालले चर्चा पाएकोछ । सुन्दर आलितालको स्वच्छ पानीलाई स्पर्शगर्दै पूर्व प्रधानमन्त्री ओली तालको सुन्दरतामा केही पल चुर्लम्म डुबेको प्रतक्ष्यदर्शीहरु बताउछन ।
समुद्री सतहदेखि आठ सय मिटरको उचाईमा रहेको आलिताल धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । हाल आलिताल पुग्न पहिलेको जस्तो बाटो असहज पनि छैन । डडेल्धुरा धनगढी भिमदत्त राजमार्गको मध्यविन्दु बुडर बजारबाट करिव १५ किलोमिटर दुरीमा पक्की सडकबाट यात्रागर्दै घुम्ती बजारबाट २७०० मिटर लामो जुनसुकै सवारी साधन जान सक्ने ग्राभील सडकबाट निर्धक्क आलिताल पुग्न सकिन्छ ।
कञ्चनपुरको बाटो भएर आउन पनि देजी लिप्ना सडक खण्ड कटाएर भित्रिमधेस क्षेत्रको केन्द्र जोगबुडा बजार हुँदै आलितालसम्म पुग्न झण्डै पचास किलोमिटरको सडक यात्रा छिचोल्नु पर्छ । बसन्त ऋतुको आगमनसँगै आलितालले आफैलाई श्रृङ्गारेर मनमोहक बनाउने भएकाले आलिताल घुम्नको लागी उपयुक्त मौसम यही हो । वनभोज खान चाहनुहुन्छ भने भाडाकुँडासहितको पिकनिक स्पट आलितालमै भएपछि के चाहियो ? यसपाली आलिताल घुम्न र रमाउन जाने होईन त ?