पुष्कर भण्डारी
डडेल्धुरा, ६ चैत
डडेल्धुरा–डडेल्धुरामा पछिल्लो समय लागु औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा भारतीय सिमासँग जोडिएका तराईका जिल्लाहरु कैलाली र कञ्चनपुर लागु औषध दुर्व्यसनीहरुको ट्रान्जिट पोइन्ट बन्दै गएको अबस्थामा डडेल्धुरामा पनि लागु औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएको हो ।
डडेल्धुरामा गत वर्षको तुलनामा यस वर्ष लागु औषध दुर्व्यसनीका मुद्दा बढेका छन । चालु आर्थिक बर्षका आठ महिनाको तथ्यांक हेर्दा गत वर्षका भन्दा बढी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकअनुसार चालु आर्थिक वर्षका चार महिना अझै बाँकी रहँदा गत बर्षको तुलनामा लागु औषध दुर्व्यसनीका मुद्दा बढेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दीपककुमार कार्कीका अनुसार लागु औषध दुर्व्यसनी सम्बन्धि गतवर्ष जम्मा सात वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ९ वटा मुद्दा दर्ता भईसकेको उनले जानकारी दिए । अघिल्लो वर्ष जम्मा पक्राउ परेका लागु औषध दुर्व्यसनीहरुको संख्या १३ जना रहेकोमा चालु आर्थिक बर्षको आठ महिने अवधीमा १२ जना पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अघिल्लो वर्षभरिमा खैरो हिरोइन १ दशमलव ८ ग्राम बरामद गरिएको थियो । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ६ दशमलब २१ ग्राम पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । यस्तै चालु आर्थिक बर्षमा हालसम्म चार किलोग्राम चरेश बरामद गरिएको छ भने गत वषभरिमा छ किलोग्रामको हाराहारीमा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरिक्षक कुसुम नायकले जानकारी दिए । लागु औषध प्रयोग हँुदै आएका बिभिन्न स्थानहरुबाट हालसम्म दुई सय २० जना लागु औषध दुर्व्यसनीहरुलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ । गत वर्षभरि कुल दुई सय १४ जना लागु औषध दुर्व्यसनीहरुलाई पक्राउ गरिएको थियो ।
लागु औषध दुर्व्यसनी भेला हुने र प्रयोग गर्ने ठाउँमा प्रहरीले छापा हान्दा लागु औषध प्रयोग गरेको जस्तो देखिने तर किटको अभावमा प्र्रमाणित गर्न गाह्रो हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन । अधिकांस लागु औषध दुर्व्यसनीहरु पढने उमेर समुहका विद्यार्थी भएकाले उनीहरुलाई सिधै मुद्दा चलाई हाल्नुभन्दा एक दुई पटकका लागि सम्झाई बुझाई आफन्तको जिम्मा लगाउने काम प्रहरीले गरिरहेको छ ।
डीएसपी कार्कीकाअनुसार गत वर्षभरिमा जिल्लाका बिभिन्न स्थानमा १२ हजार गाँजाका बिरुवा फडानी गरिएका थिए भने चालु आर्थिक वर्षको हालसम्म १० हजार पाँच सय बिरुवा नष्ट गरिएको छ । गत वर्ष करिब ५० रोपनी क्षेत्रफलमा गाजाका बिरुवा नष्ट गरिएको थियो । यसवर्ष हालसम्म ४० रोपनी जमिन क्षेत्रफलमा रहेका गाजाका बिरुवा नष्ट गरिएको छ । गाँजाका बिरुवा जेठ र असार महिनातिर हुुर्कने भएकाले चालु आर्थिक बर्षमा यो संख्या बढ्न सक्ने देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विद्यालय र समुदायमा गरि लागु औषध विरुद्ध सचेतना फैलाउन यसवर्ष हालसम्म दुई सय ६८ वटा जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिएको छ । जसमध्ये विद्यालयमा केन्द्रित ९१ र समुदायमा केन्द्रित एक ७६ वटा कार्यक्रम रहेको डीएसपी कार्कीले जानकारी दिए । लागु औषध प्रयोगकर्ताले प्रयोग गरेको वा नगरेको थाहा पाउन किट आवश्यक पर्ने भए पनि डडेल्धुरामा किट उपलब्ध नभएको उनले बताए ।
लागु औषध प्रयोग गरेका दुर्व्यसनीहरुले पनि आफुले प्रयोग नगरेको भन्दै इन्कारी बयान दिने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन । ‘उनीहरुले लागु औषध प्रयोग गरेको बिभिन्न लक्षणहरुबाट थाहा हुन्छ । पुष्टि गर्ने किट छैन,’ उनले भने, ‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट किट आउँदैन । सरकारी अस्पतालहरुमा किट नहुने भएकाले लागु औषध फेला नपारे सम्म प्रयोग गरेको प्रमाणित गर्न निकै कठिनाई हुन्छ ।’
यस्तै डडेल्धुरामा मादक पदार्थ जाँच गर्ने बेथलाईजर मेसिनको अपर्याप्तता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म ट्राफिक प्रहरी पोष्ट स्याउलेसंग एक थान मात्रै बेथलाईजर मेसिन रहेको छ । ‘त्यो पनि निकै पुरानो भईसक्यो । कहिलेकाहि चार्ज गर्दा ह्याङ हुने अवस्था छ । एउटै बेथलाईजर कहाँ कहाँ घुमाउनु ? यसमा पनि निकै समस्या भएको डीएसपी कार्कीको गुनासो छ ।
