राम धामी
डडेल्धुरा, ५ चैत
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म खुलेयाम पैसा बाँडेर काँग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जित्दै आएको डडेल्धुरामा अब एमालेले चुनाव लडेर जित्ने गरेको दाबी गरेका छन ।
डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिकास्थित रंग मैदानमा सोमबार एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशनको समुद्घाटन गर्दै अध्यक्ष ओलीले देउवाले पाँच पटक प्रधानमन्त्री भएर पनि विकास निर्माण गर्न नसकेको जिकिर गरे । ‘नेकपा एमालेले त यहाँ उम्मेदवारै उठाएन क्या हो,’ मञ्चमा रहेका अतिथिलाई जिज्ञासा राख्दै ओलीले भने, ‘एमालेले सघायो मात्रै । जब उठ्दै उठेको छैन त कहाँबाट जित्छ ? अब नेकपा एमाले कसैलाई सघाउन जानेभन्दा पनि उठ्ने, लड्ने र जित्ने काम गर्छ यहाँ । म साथीहरुलाई त्यो तयारी गर्न आग्रह गर्दछु ।’
गत निर्वाचनमा नेकपा एमालेले डडेल्धुरामा प्रतिनिधिसभातर्फ चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर, अध्यक्ष ओलीले विपी काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने भन्दै उम्मेदवारी फिर्ता गराएका थिए । तर, एमाले डडेल्धुराका नेताहरुले मल्ललाई सघाएनन् । ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ । एउटा शेरबहादुरजीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नु हुन्छ । टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ । त्योभन्दा बढी के भनम् ।’
२०७९ मंसिर ४ गते सम्पन प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको स्मरणगर्दै अध्यक्ष ओलीले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए । तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने । मिस पवीले जोड गरेकै हुन । विचारा एउटी मिस पवी के गरून ।’ डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको उनले बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकार नयाँ अभियान र नयाँ जागरणका साथ अघि बढिरहेको जिकिर गरे । एमाले नवौँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप डडेल्धुरामा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले डडेल्धुराको अध्यक्ष पदमा दुई नेता आकांक्षी देखिएका छन ।
अध्यक्षका लागि हाल संयोजक रहेका गजेन्द्र शाही र चक्रप्रसाद स्नेहीले दाबी गरेका छन । निर्वाचनमा जानुभन्दा सहमतिमा नेतृत्व छनौट गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन । अधिवेशनको उदघाटन समारोहमा एमाले सचिब लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट्ब्युरो सदस्य गणेश ठगुन्ना, केन्द्रीय सदस्य पठानसिँह बोहरा लगायतका नेताहरूले सम्बोधन गरेका छन ।
You might also like