बजार अनुगमनमा तिव्रता दिदैं नवदुर्गा गाउँपालिका

मदिरा नियन्त्रण प्रभावकारी हुँदा महिला हिंसाका घटनामा कमि आएको दाबी

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले स्थानीय बजारमा रहेका सबै पसलहरुको नियमित रुपमा बजार अनुगमन गरिरहेको छ ।
नवदुर्गा गाउँपालिकाका पाँच वटै वडामा रहेका स्थानीय बजार तथा पसलहरुमा यही गत पुस १७ गतेदेखि चैत्र ३ गतेसम्म निरन्तर रुपमा बजार अनुगमन गरिएको नवदुर्गा गाउँपालिका बजार अनुगमन समितिका संयोजक उपाध्यक्ष निर्मला बोगटी विष्टले जानकारी दिइन् ।
विभिन्न चरणमा गरिएको बजार अनुगमनका क्रममा गाउँपालिलका भित्र रहेका साना ठुला गरेर कुल चार सय ७१ पसलहरुको अनुगमन गरिएको हो । नवदुर्गा गाउँपालिकाको बजार अनुगमन निर्देशिका २०७४ मा व्यवस्था भए अनुसार नियमित रुपमा बजार अनुगमन गरिएको गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले जानकारी दिए ।
गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका उद्योगी ब्यवसायीहरुलाई दर्ता गरेर करको दायरामा लिने र गुणस्तरहीन, अखाद्य तथा म्याद नाघेका खाद्यान्न तथा दैनिक उपभोग्य बस्तहरुको बिक्रि वितरणमा निगरानी राख्ने उदेश्यले बजार अनुगमन कार्य तिव्र रुपमा सञ्चालन भइरहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए ।
मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सो गाउँपालिकाभित्र अवैध रुपमा मदिराको कारोबार भइरहेकाले नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्टले बताइन् । अवैध रुपमा मदिरा बिक्री वितरणमा रोक लगाइएपछि अत्याधिक मदिरा सेवन गरेर घरेलु तथा महिला हिंसाका घटनामा संलग्न हुनेहरुको संख्यामा कमि आएको गाउँपालिकाको महिला तथा वालबालिका शाखाले जनाएको छ ।
उपाध्यक्ष विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई बजार अनुगमन जिम्मेवारी दिएकाले सबै स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका बजार अनुगमन नियमित रुपमा अनुगमन गर्न सकेमा उपभोक्ताहरुको हितमा काम गर्न सकिने जिकिर गरिन् । उनले हरेक पसलहरुमा मुल्य सुँची राख्न, म्याद नाघेका र अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्न र अवैध रुपमा मदिरा बिक्री वितरण नगर्न पहिलो पटकलाई सम्झाई बुझाई गरेर छोडिएको जानकारी दिइन् ।
गाउँपालिकाभित्र बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरुको मुजुल्का तयार गरेर गाउँपालिकाको प्राङ्गणमा नष्ट गरिएको छ । अगामी दिनमा पनि निरन्तर रुपमा बजार अनुगमन गरिने नवदुर्गा गाउँपालिकाले जनाएको छ । बजार अनुगमन पश्चात आकासिदो मुल्यवृद्धी नियन्त्रण भएको र स्थानीय उपभोक्ताहरुले राहातको अनुभुति गरेको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.