‘सदमा’बाट तङ्ग्रिने उपायको खोजी

सन्दर्भः एमाले डडेल्धुराको नवौं अधिवेशन

चुनाव अघिनै पाँच दलीय गठबन्धन बनाएर ४ मंसिर २०७९ मा देशभर एकैसाथ सम्पन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा होमिएका राजनीतिक दलहरुलाई फुटाएर संघीय सरकारमा पाईला टेक्दा नेकपा(एमाले) मा जुन उत्साह देखिएको छ, डडेल्धुरा एमालेमा भने कुनै उत्साह र उमंग देखिदैन् । ३० बैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा टिकट पाउन नसकेपछि नेपाली काँग्रेससँग विद्रोह गरेर विपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर चुनावमा होमिएका नेता कार्यकर्ताहरुसँग गठबन्धन गरेको डडेल्धुरा एमालेले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि ब्यहोर्नु परेको गहिरो चोट भलाउन सकेको छैन ।
उर्दु भाषामा एउटा चर्चित शब्द छ ‘सदमा’ । नेपालीमा गहिरो चोट अर्थात अंग्रेजीमा ‘ट्रमा’ भनेर बुझिने यस शब्दले कुनै व्यक्ति अकल्पनीय चोटबाट केहीबेर होस गुमाउँन पुगेको अबस्थालाई जाहेर गर्छ । गहिरो ‘सदमा’ पछि होसमा फर्किंदा उसले तत्काल केही खुट्याउन सक्दैन । नवौं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा गरिसकेको एमाले डडेल्धुराले पछिल्ला बर्षहरुमा जे जस्ता घटनाक्रम झेलेको छ, ती हरेक प्रकारले ‘सदमा’ थिए । जुन ‘सदमा’बाट एमाले डडेल्धुरा अझै पनि पूर्ण रुपमा होसमा आइसकेको छैन ।
बलु महेन्द्रको निर्देशनमा सन् १९८३ मा बनेको रूमानी हिन्दी नाट्य फिल्म ‘सदमा’ देखेकाहरुले यो शब्दको खास अर्थ बुझ्छन । श्रीदेवी र कमल हसनको जीवन्त अभिनय रहेको सुपरहिट हिन्दी फिल्म ‘सदमा’ हेरेर हुर्किएका एमाले डडेल्धुराका नेताहरु अहिले सोही फिल्मका पात्र जस्तै प्रस्तुत भइरहेका छन, नवौं जिल्ला अधिवेशन मार्फत नेतृत्व हत्याउनका लागि । नेपाली काँग्रेसको दबदबा रहेका बेला २०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा जिल्लाका २५ मध्ये तत्कालिन आलिताल गाविसको नेतृत्व हत्याउन सफल डडेल्धुरा एमालेले २०५४ सालसम्म आईपुग्दा राप्रपासँग चुनावी गठबन्धन गरेरै भए पनि जिल्ला विकास समितिको नेतृत्व हत्याउन सफल भएको थियो ।
२०५६ सालमा एमालेमा विभाजन आएपछि तत्कालिन जिविस सभापति गजेन्द्रबहादुर शाही, पार्टी सचिव तारा जोशीसहित जिल्ला कमिटीका झण्डै दुई तिहाई बहुमत सदस्यहरु चोइटिएर बनेको नेकपा (माले) प्रवेश गर्दा पहिलो पटक एमाले डडेल्धुराले सदमा अनुभुती गरेको हो । त्यसबेला गैर सरकारी संस्थामा जागिरे नेता पठानसिँह बोहरालाई ल्याएर पार्टी सचिवको जिम्मेवारी दिदैं तङ्ग्रिएको एमाले डडेल्धुराले २०७४ सालको निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावमा होमिदाँ तिनै पठानसिँहलाई प्रदेशसभा निर्वाचनमा विजयी बनाउन सफल भयो ।
अध्यक्ष केपी ओली र माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड दुई पाईलटले हाँकेको वाम गठबन्धन केवल चुनावी सफलतामा मात्रै रमाएन, लगत्तै पार्टी एकता भएर नेकपा जन्मियो । तत्कालिन नेकपाको नेतृत्व माओवादीका मानसिंह मालको पोल्टोमा पुगेपछि डडेल्धुरा एमालेले दोस्रो पटक सदमा झेल्ने बाध्यता आयो । नेकपा विभाजनपछि प्रकाशबहादुर साँउदले एमाले डडेल्धुराको कमाण्ड सम्हाल्ने सुनौलो अवशर प्राप्त गरे । साँउद नेतृत्वको एमाले डडेल्धुराले उचित मुल्यांकन गर्ने अभिलाषा बोकेर लामो समयसम्म पार्टीमै जोडिने कसरत गरिरहेका डा. तारा जोशीलगायतका लोकप्रिय नेताहरुले माधव नेपालबाट एकीकृत समाजवादीको टिका लगाएपछि एमाले डडेल्धुरालाई फेरी गहिरो चोट पर्नु स्वभाविक थियो । जिल्ला राजनीतिका चतुर खेलाडी प्रकाशले सदमा झेलिरहेको एमालेलाई होसमा ल्याउने कोसिस गर्दागर्दै एकाएक गल्हत्याईए ।
पञ्चायतकालमा भूमिगत अवस्थाका विष्णु मानन्धरले संगठित गरेको एमाले डडेल्धुराको संगठनमा २०४६ सालपछि गोविन्दप्रसाद कलौनीले प्राण भरेका थिए । उनलाई बैतडी सरुवा गरेर जिल्ला राजनीतिमा पकड जमाउन प्रयासरत अहिलेको एमाले डडेल्धुराका नेताहरुले कहिले खेमराज मायालुको बालक चिन्ह बोक्ने विवसता आईलाग्यो भने कहिले विडी चटौतका लागि सुर्यमा भोट माग्ने बाध्यता आयो । हुँदाहुँदा ४ मंसिर २०७९ को प्रतिनिधीसभा निर्वाचनमा सागर ढकालको सिरिन्जले पनि एमालेको गम्भीर चोट निको पार्न सकेन । त्यसैले त अजयमेरुको पुईलेकबाट बुरुक्क बुरुक्क उफ्रेको खरायो प्रतिनिधिसभाको निर्वाचन सम्म आईपुग्दा उडने पुतली बनिसक्दा पनि ‘मम्यालबाजे’सँग पछारिन पुग्यो ।
एमाले डडेल्धुरासँग सत्ता थियो र सत्ताका विभिन्न ओहोदाहरु बाँड्ने ठाउँमा थियो । लामो समय जिल्ला राजनीतिको कमाण्ड सम्हालेर बसेका एमाले नेताहरुको हैसियत एकाएक खोसिएपछि गम्भीर आघात झेलेको एमाले डडेल्धुरा त्यँही गहिरो सदमाबाट अझै बाहिर निस्कन सकेको छैन । परशुराम रंगमैदानमा केपी ओलीबाट उद्घाटन हुने नवौं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी सकेको एमाले डडेल्धुराले ‘सदमा’बाट तङ्ग्रिने उपायको खोजी गर्नु पहिलो प्राथमिकता हुनेछ । अपितु, एमाले डडेल्धुराको राजनीतिलाई नजिकबाट नियाली रहेका विश्लेषकहरु भने तत्कालै एमाले डडेल्धुरा सदमाबाट तङ्ग्रिन नसक्ने दाबी गर्छन ।

You might also like