काठमाडौँ — नेपालले मलेसियाविरुद्धको मैत्रीपूर्ण अभ्यास खेल शुक्रबार ५–१ ले गुमाएको छ । युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपालका लागि समिर तामाङले एक मात्र गोल ले गरे ।
दर्शकविहीन बन्द रंगशालामा भएको खेल ३५–३५ मिनेट गरेर चार ‘हाफ’ सहित खेलाइएको थियो । कुल १ सय ४० मिनेट चलेको खेलमा समीरले ६८ औं मिनेटमा गोल गरे ।
डरेन लोकले ३१ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि मलेसियाले अग्रता लिएको थियो । उनैले ३५ औं मिनेटमा दोस्रो गोल पनि थपे । त्यसपछि स्टुवार्ट वालकिनले ४६, ड्यानिएल टिङले ४८ र मखरि अजमले मेहदीले १ सय ३५ औं मिनेटमा गोल गरे ।
विश्वकप र एसियाकप छनोटमा बहराइनको सामना गर्न अगाडि त्यसको तयारीका रूपमा नेपालले मलेसियाविरुद्ध यस अनौपचारिक अभ्यास खेल खेलेको हो । अब नेपाली टिम बहराइन जानेछ र त्यहाँ चैत ८ र १३ मा खेल्नेछ ।