काठमाडौं-नेपाल सरकारका नवनियुक्त चार मन्त्रीले आज एक विशेष कार्यक्रमका विच पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी थिइन् ।
यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डलमा हेरफेर समेत गरेकी छन् । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्मा सोमबार चारजना थपिएपछि आठ सदस्यीय भएको छ ।