डडेल्धुरा–व्यावसायिक कृषि उत्पादनतर्फ फट्को मार्न थालेको डडेल्धुराले पछिल्लो एकबर्षको अवधिमा ५४ करोड ३५ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात गरेको छ ।

गत आर्थिक बर्ष २०८१/०८२ मा डडेल्धुराबाट कुल ५४ करोड ३५ लाख रुपैयाँको कृषि उपज निर्यात भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख वागवानी विकास निर्देशक नरेन्द्र पनेरुले गत आर्थिक बर्षमा डडेल्धुराबाट आलु, तरकारी, भटमास, सुन्तला जात फलफूल, मह र च्याउ सुदूरपश्चिम प्रदेशभित्र र बाहिरी जिल्लाहरुमा निर्यात गरिएको जानकारी दिए ।

गत आर्थिक बर्षमा डडेल्धुराबाट अन्दाजी २० करोड ५० लाख रुपैयाँको पाँच हजार मेट्रिक टन आलु, २५ करोड रुपैयाँको छ हजार मेट्रिक टन तरकारी, पाँच करोड रुपैयाँको पाँच सय मेट्रिक टन भटमास, एक करोड ६० लाख रुपैयाँको दुई सय मेट्रिक टन सुन्तला जात फलफूल, एक करोड ५० लाख रुपैयाँको १५ मेट्रिक टन मह र ७५ लाख मुल्यको ५० मेट्रिक टन च्याउ निर्यात भएको बताए ।
डडेल्धुरा जिल्लाबाट तरकारी, फलफूल, दल्हन तथा नगदे बाली निर्यात भइरहेको भए पनि खाद्यान भने बर्षेनि आयात हुने गरेको छ । गत आर्थिक बर्ष २०८१/०८२ को खाद्यान वासलात पनि निर्यातमुखी देखिएको छ । डडेल्धुरामा गत आर्थिक बर्षमा कटानी तथा प्रशोधन, पशु आहार र बिउ प्रयोजनको कटाएर कुल सात हजार नौ सय ३४ मेट्रिक टन धान, पाँच हजार छ सय ९६ मेट्रिक टन मकै, ११ हजार चार सय ७९ मेट्रिक टन गहुँ, चार सय ६० मेट्रिक टन कोदो र ५९ मेट्रिक टन जौ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
डडेल्धुरा जिल्लाको कुल जनसंख्याको अनुपातमा गतबर्ष कुल २६ हजार छ सय २४ मेट्रिक टन खाद्यान आबश्यक देखिएको अबस्थामा कुल खाद्यान उत्पादन २५ हजार छ सय २९ मेट्रिक टन उत्पादन भएको र एक हजार ३५ मेट्रिक टन खाद्यान अपुग भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले तयार पारेको खाद्यान वासलातमा उल्लेख छ ।
