सुदूरपश्चिममा आज ओल्के पर्व

डडेल्धुरा-सुदूरपश्चिम प्रदेशमा आज भव्य रुपमा ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ ।

वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन पहाडी समुदायले सद्भाव बाँड्ने चलन रहेको छ ।

सुदूरपश्चिमेली संस्कारमा ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ ।
विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएका छन् ।

You might also like