डडेल्धुरा-श्री कृष्ण जन्माष्टमीको अवसर पारी शनिबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

मन्दिर क्षेत्रलाई स्वच्छ, आकर्षक र भक्तजनलाई सहज बनाउनका लागि डडेल्धुराका युवा अगुवाहरूको आयोजनामा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त सरसफाइ कार्यक्रममा स्थानीय वासिन्दा, समाजसेवी, युवाहरु तथा भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको बारेमा बोल्दै युवा अगुवा तारा भट्ट ले भने, “उग्रतारा मन्दिर हाम्रो आस्था र सम्पदाको धरोहर हो, यसलाई सफा राख्नु हाम्रा सबैको जिम्मेवारी हो । आज सुरु भएको यो अभियानलाई निरन्तरता दिन हामी सबै प्रतिबद्ध छौं ।”
कार्यक्रमका क्रममा सहभागीहरूले मन्दिर वरपरको फोहर सफा गर्ने, प्लास्टिक तथा धुलो–मैलो हटाउने लगायतका कार्य गरेका थिए । यस अवसरमा सरोकारवालाले धार्मिक स्थल मात्र नभई समाजका अन्य सार्वजनिक स्थलहरूलाई पनि स्वच्छ राख्नुपर्नेमा जोड दिएका थिए ।
युवा अगुवाहरूले आगामी दिनमा पनि सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।
“जय माता उग्रतारा” भन्दै सहभागीहरूले वातावरण संरक्षणसँगै धार्मिक स्थलको महत्त्व जोगाउन सबैलाई आग्रह गरेका थिए ।
