डडेल्धुरा-डडेल्धुरामा विभित कार्यक्रमकासाथ विश्व स्तनपान दिवस मनाईएको छ । ‘स्तनपानलाई प्राथमिकता दिनुहोस् दिगो सहयोग प्रणाली सिर्जना गर्नुहोस्’ भन्ने मुलनाराका साथ दिवस मनाईएको हो । यो दिवस सप्ताह व्यापी रुपमा विश्वका १ सय २० देशमा मनाईने गरेको तथ्याँक सार्वजनिक गरिएको छ ।
डडेल्धुराको डडेल्धुरा अस्पतालमा शुक्रबार ६ महिना सम्म आमाको दुध मात्र शिशुलाई खानदिने र आमाको दुध शिशुका लागि अमृत समान भएको भन्दै सरोकारवालाहरुले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।
विश्व स्तनपान सप्ताहको अवसरमा अस्पतालमा विभिन्न चेकजाँच तथा उपचारका लागि अस्पताल आएका हजार दिनका आमा लगाएत अन्य सहभागिहरुलाई नाटक,गीत, तथा स्तनपानको महत्वका बारे प्रकाश पारिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
कार्यक्रम मार्फत डडेल्धुरा अस्पतालका मे.सु.डा. सुधा देवकोटाले स्तनपान हरेक शिशुका लागि महत्वपुर्ण रहेकाले ६ महिना सम्म आमाको दुधमात्र खान दिने कुरामा जोड दिन आग्रह गर्नुभो ।
उनले शिशुको पहिलो खोप भनेकै स्तनपान भएकोले आमाको दुधमा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता भएको वताउनुभयो ।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले स्तनपान मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकाले स्तनपानलाई विशेष महत्वदिनु पर्नेमा जोड दिन आग्रह गर्नुभो ।
हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा स्तनपान दिवस मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुरा, अमरगढी नगरपालिका लगाएत सरोकारवाला संघ संस्थाको सहभागिता थियो ।