डडेल्धुरा-डडेल्धुराको अजयमेरु गाउँपालिकाको गत आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कार्यान्वयन गरेका योजना तथा कार्यक्रमहरूको बार्षिक लक्ष्य तथा प्रगति, आय व्यय विवरण, प्रभाव तथा उपलब्धीहरु र गाउँपालिकाबाट बर्षभरि प्रवाह गरिएका सेवाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ओझाले गाउँपालिका लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको बताए । कार्यक्रममा सहभागी सेवाग्राहीहरूले सुझाव तथा जिज्ञासाहरू राखेका थिए । अधिकांश सहभागीहरूले गाउँपालिका जोड्ने मुख्य सडक र अन्य ग्रामीण सडकसम्बन्धी प्रश्न गरेका थिए । भद्रपुर लिफ्ट खानेपानी योजना, डागेश्वरी लिफ्ट खानेपानी योजना, गाउँँपालिकाको प्रशासकीय भवन, आधारभुत अस्पताल निर्माणमा भएको ढिलासुस्तीका बारेमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेस अजयमेरुका सभापति टेकराज पाण्डेय, नेकपा (एमाले) अजयमेरु इन्चार्ज रमेशबहादुर शाह, नेकपा माओवादी अजयमेरुका इन्चार्ज करुणाकर पनेरु, नेकपा (एकीकृत समाजवादी) अजयमेरुका अध्यक्ष खेमराज गिरी लगायत राजनीतिक दलका प्रतिनिधीहरुले गाउँपालिकाको समग्र विकाससँगै शुशासन प्रवद्र्धनका लागि सुझाव दिएका थिए ।
पत्रकार राम धामीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’, उपाध्यक्ष बसन्ती पाल, प्रमुख प्रशासकीय अधिकृत ओझा, विषयगत शाखाका प्रमुखहरू र वडाध्यक्षहरूले सहभागीबाट प्राप्त गुनासाहरूको सुनुवाइ गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधी तथा जिम्मेवार कर्मचारीहरुले प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, कृषक, उपभोक्ता समिति, निर्माण व्यवसायी, विषयगत शाखा, वडा कार्यालय तथा शहीद परिवारलाई सम्मान गरिएको थियो । शुक्रबारनै गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि कार्य सम्पादन जिम्मेवारी हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिए ।