कैलाली-सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ ।
सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा. २ झ १४१९ नम्बरको गाडी एक आपसमा ठोक्किएको हो ।
दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिकाको वडा नं.९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली कैलालीको जानकी गाँउपालिका आउँदैछन् ।
