डडेल्धुरा-डडेल्धुरामा सामुदायिक तथा घरपालुवा कुकुरहरूको बढ्दो संख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सम्पन्न भएकोछ। साउन ९ र १० गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको उद्घाटन हिजो डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नुभएको थियो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजना र समन्वयमा सञ्चालन भएको कार्यक्रममा काठमाडौं र डोटीबाट समेत विज्ञ डाक्टरहरू सहभागी भएका थिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख देवराज भट्टका अनुसार साउन ९ गते १० गते डडेल्धुराको सदरमुकाम आसपासका बजारमा रहेका पोथी कुकुर ४७ र भाले कुकुर ३५ गरी जम्मा ८२ वटा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
पशु सेवा बिज्ञ केन्द्रका प्रमुख देवराज भट्टका अनुसार बन्ध्याकरण कार्यक्रमले डडेल्धुरामा सामुदायिक कुकुरको व्यवस्थित नियन्त्रणमा सहयोग पुग्ने र यसबाट स्थानीय बासिन्दाले भोग्दै आएका समस्याहरू कम हुने अपेक्षा गरिएको छ।
उक्त शिविरमा डा.विकाश बोहरा, डा. खडक कठायत, डा. ज्ञानमणी भट्ट, डा. विधान उपाध्याय लगायतका पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका अन्य प्राविधिक कर्मचारीहरुको सहभागीता रहेको थियो ।
