यसबर्ष ४३ हजार हेक्टर धान रोप्ने क्षेत्रफल घट्ने प्रारम्भिक अनुमान

डडेल्धुरा–बर्षेनी मागअनुसार धान उत्पादन हुन नसकिरहेका वेला रोपाइँ हुने क्षेत्रफल निरन्तर घट्न थालेको छ । यो वर्ष पनि विगतको तुलनामा ४३ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने कृषि विभागको प्रारम्भिक अनुमान छ।

यद्यपि, भदौ पहिलो सातामा रोपाइँ सकिएपछि अहिले अनुमान गरेको तुलनामा केही क्षेत्रफल बढ्ने विभागको दाबी छ। १५ असारमा आयोजना हुने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसबारे जानकारी दिन विभागले गरेको पत्रकार सम्मेलनमा यो वर्ष १३ लाख ९५ हजार दुई सय सात हेक्टरमा रोपाइँ हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो । गत वर्ष भने १४ लाख ३८ हजार नौ सय ८९ हेक्टरमा रोपाइँ भएको थियो । बर्सेनि रोपाइँ हुने क्षेत्रफल घट्दा उत्पादनमा असर परेको छ । गत वर्ष रोपाइँ भएको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १० हजार हेक्टर कम हो।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले धान खेतीबाट अपेक्षाकृत आम्दानी नहुँदा किसानहरू अन्य बालीतर्फ आकर्षित हुन थालेको बताए । ‘धानबाट पर्याप्त आम्दानी नभएपछि नगदे बालीतर्फ किसान आकर्षित भइरहेका छन् । खाद्य बालीमै पनि धानको विकल्प खोज्ने क्रम बढेको छ,’ उनले भने । तराईको खेतीयोग्य जमिन बिस्तारै अन्य क्षेत्रमा प्रयोग हुँदा पनि क्षेत्रफल विस्तारमा समस्या भएको उनले बताए।

विगतमा देशभर साढे १५ लाख हेक्टरसम्म रोपाइँ भएको तथ्यांक छ । खेतीयोग्य क्षेत्रफल घट्दा खान पुग्ने धान उत्पादन हुन सकिरहेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत वर्ष ५७ लाख २४ हजार टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष ०८१/८२ को वैशाखसम्म ३५ अर्ब १८ करोड रुपैयाँको चामल भारतबाट आयात भइसकेको छ।

वर्षे धानको खेतीयोग्य क्षेत्रफलमा घट्न थालेपछि चैते धान लगाउन किसानलाई प्रोत्साहित गरिरहेको विभागले जनाएको छ । हाल एक लाख १० हजार हेक्टरमा चैते धान भइरहेको र दुई लाख हेक्टरसम्म विस्तार गर्न सके मागअनुसार उत्पादन हुन सक्ने विभागको भनाइ छ ।चैत, वैशाख र जेठमा हुने चैत धान खेतीका लागि निरन्तर खेतमा पानी पुर्‍याइरहनुपर्ने हुन्छ । सुक्खा सिजनमा नियमित रूपले सिँचाइ सुविधा पुर्‍याउन भने कठिन हुने उपमहानिर्देशक विनोदकुमार भट्टराईले बताए।

विभागले सातै प्रदेशबाट संकलन गरेको विवरणअनुसार देशभर १२.३३ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा बढी सुदूरपश्चिममा ४५.४९ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरमा धेरै रोपाइँ हुने कैलाली र कञ्चनपुरमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुने गरेको छ । बागमती प्रदेशमा २०.५३ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा रोपाइँ सुरु भइसकेको विभागको तथ्यांक छ । त्यस्तै, कोशीमा ५.९६ प्रतिशत, गण्डकीमा १३.७९ प्रतिशत, लुम्बिनीमा ९.६६ प्रतिशत र कर्णालीमा २०.११ प्रतिशत रोपाइँ सकिएको छ । मधेशमा भएको रोपाइँको विवरण भने अद्यावधिक नभएको विभागको भनाइ छ।

You might also like